वर्तमान सरकार पाँच वर्ष नै जाने हो भने विदेशी सेनाले परेड खेल्छ : अधिकारी


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित




नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने हो भने छिमेकी देशका सेनाले नेपाली आमाको छातीमा परेड खेल्ने सम्भावना रहेको दाबी गरेका छन् । नेकपा एमाले कास्कीले गरेको संकल्प यात्रा अन्तर्गत कास्कीमा हुने कार्यक्रमबारे जानकारी गराउन मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अधिकारीले भने,‘पाँचै वर्ष यो सरकार जाने हो भने त लिम्पीयाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा छिमेकीका सेनाले परेड खेल्ने मात्र होईन । हाम्री आमाको छातीमा धेरै परेड खेल्ने सम्भावना छ ।’ उनले यो अवस्थालाई बुझेरै एमालेले संकल्प यात्रा अगाडि बढाएको बताए ।

अधिकारीले दुर्गा प्रसाईं र उनको समूहले संविधान विरोधी काम गरिरहँदा सरकारले प्रतिवाद नगरेको आरोप लगाए । संविधान र व्यवस्था जोगाउन एमालेले अगुवाई गरिरहेको बताउँदै उनले अगाडि भने,‘दुर्गा प्रसाईं र उनको समूहले सिंगो व्यवस्थालाई सामाजिक अराजकतामा परिणत गराएर अस्तव्यस्त सिर्जना गरेर धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहेका छन् । तर यो समूहले संविधान विरोधी काम गरिरहँदा सरकारको तर्फबाट कुनै प्रतिवाद भएन । यसबाट प्रष्ट हुन्छ को हो संविधानको लागि लड्ने, संविधान जोगाउने ।’

अधिकारीले सरकार बदलिने वा मन्त्री परिषद फेरिनेमा एमालेको चासो र रुची दुबै नभएको बताए । उनले वर्तमान सरकारबाट सर्वहारा तथा श्रमजिवी वर्गको हित नहुने दाबीसमेत गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।