पोखरा । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु पुरस्कृत हुने भएका छन्। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले उनलाई यस वर्षको “फोनिज युके पत्रकारिता पुरस्कार” दिने निर्णय गरेको हो।
पत्रकार तमु लामो समयदेखि फोटो पत्रकारितामा क्रियाशील छन् । उनले ३ वर्षदेखि आफ्नै मिडिया गोर्खा मिडिया डट कम संचालन गर्दै आएका छन् ।
गोर्खाज डटकम तथा एभरेष्ट टाइम्समा लामो समय पत्रकारितामा योगदान गरेका उनले ब्रिट्रिस गोर्खा सेनामा सेवा गरी निवृत्त उनी विभिन्न रचनात्मक काममा सरिक हुँदै आएका छन् । उनी यसअघि दर्जन बढी विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका छन् । पोखरा नयाँबजारका उनको पुर्ख्यौली गाउँ कास्कीको रिभान हो । हाल उनी अल्डरसटमा सपरिवार बस्दै आएका छन् ।
फोटो पत्रकारितामा निकै क्रियाशील उनी गीत लेखनमा पनि रुचि राख्छन् । रोधी घरको आँगन बोलको गीत (भाग १ देखि ३) स्रोता दर्शकले निकै रुचाएका थिए । उनले सफल गुरुङ फिल्म युम्पो देउराली निर्माण पनि गरेका छन् ।
त्यसैगरी, फोनिज युकेले यस वर्षको “फोनिज युके प्रतिष्ठित पत्रकारिता सम्मान” श्रीमती विमला सेनेलाई दिने निर्णय गरेको छ।
सन् १९९२ बाट ब्रिट्रिस फोर्सेस ब्रोडकाष्टिङ सर्भिस ब्रुनाईबाट रेडियो पत्रकारिता शुरु गरेकी उनले इटहरीबाट संचालित सप्तकोशी एफएममा सन् २००४ देखि निरन्तर करिब १० वर्ष रेडियो पत्रकारिता गरिन् । वाणिज्यशास्त्रमा स्नातकोत्तर उनी ब्रुनाईमा रेडियो सेवा सँगै लण्डनको नेपाली टिभीमा समाचार प्रसारकको रुपमा पनि काम गरिन् । सन् २०१४ देखि गोर्खा च्यानल चलाएकी उनी तेह्रथुमको लालीगुराँसमा जन्मेकी हुन् । उनी नेपाल पत्रकार महासंघ युके शाखाको नेपालको निमित्त केन्द्रीय प्रतिनिधि सदस्य एवं पूर्व उपाध्यक्ष हुन् ।
फोनिजका पूर्व अध्यक्षहरु सम्मिलित छनौट समितिले प्रतिभा छनोट गरेको हो । समितिमा हालका अध्यक्ष गोमा रानासहित पूर्व अध्यक्षहरु किरण टी लिम्बु, विश्वासदीप तिगेला र प्रमिला लाबुङ थिए ।
फोनिज युकेका अध्यक्ष गोमा रानाले पुरस्कार तथा सम्मान आगामी १६ डिसेम्बरमा अल्डरसटमा हुने चौथो अधिवेशनबीच प्रदान गरिने जानकारी दिएकि छिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।