कुमुदिनी होम्सले मनायो ३७औं स्थापना दिवस, उद्देश्य नै “सधैं उच्च लक्ष्य” : अध्यक्ष अशोक पालिखे


     एभरेस्ट आवाज    
     पौष १ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा-४ गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माविले शनिबार ३७औं स्थापना दिवस मनाएको छ । पोखराको अग्रणी विद्यालयको पहिचान बनाएको कुमुदिनीले स्थापना दिवसमा वार्षिक पुरस्कार बितरण तथा अभिभावक दिवस पनि मनाएको हो ।
विद्यालयका अध्यक्ष अशोक पालिखेको अध्यक्षता तथा पोखरा महानगरका मेयर धनराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निरन्तर उत्कृष्ट शिक्षा प्रदान गर्दै ३७ औं स्थापना दिवस सभ्य भव्य समारोहबीच मनाईरहेको कार्यक्रममा आउन पाउदा खुसि लागेको बताए ।
मेयर आचार्यले विद्यालय हाताभित्र छिरेर यसो नियालेको त विद्यालय म्युजियम जस्तो, सांस्कृतिक सम्पदायुक्त, प्राकृतिक हरियाली देखें । यहाँको व्यवस्थापन पक्ष डिउटीफुल रहेकोमा मेयर आचार्यले खुसी व्यक्त गरे ।
उनले शैक्षिक नतिजा पनि उत्कृष्ट ल्याउनका लागि डिउटीफुल हुनुपर्ने बताउदै यस्तो परिपाटीलाई कायम राख्न सल्लाह दिए । उनले भने, तपाँईहरुले उत्पादन गर्ने विद्यार्थीहरु पक्कै पनि अन्तराष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्षम हुनेछन्।
विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले २०४४ साल पुष २ मा स्थापना भएको विद्यालय ३७औं वर्षमा प्रवेश गर्नुमा अभिभावक, शिक्षक, विद्यार्थी, शिक्षा नियमन निकाय सबैको सहयोग भएको भन्दै सबैप्रति आभार व्यक्त गरे ।
२०७९ सालको एसइई २७औं व्याचमा ९४ जना विद्यार्थी सहभागि भएकोमा नतिजा सन्तोषजनक रहेको बताए । उनले ए प्लस ७ जनाले, ए १७ जनाले, बी प्लस २९ जनाले, बी २४ जना, सी प्लस २४ जना रहेको बताए । शिक्षाका लागि सम्झौता हुनै नसक्ने बताउँदै पालिखेले विद्यालयले आफ्नो उदेश्य नै “सधैं उच्च लक्ष्य” रहेको बताए । यसका लागि समय समयमा विद्यार्थी, शिक्षक तथा विद्यार्थीका लागि तालिम र परामर्शका कार्यक्रमलाई निरन्तरता दिईएको बताए । म यो पनि दावि गर्छु कि प्रदेशमा सबैभन्दा बढी शिक्षक, विद्यार्थी र अभिभावकका लागि तालिम तथा परामर्शको कार्यक्रम गर्ने कुमुदिनी नै हो ।
उनले समय अनुसारको शिक्षा पद्धतिलाई अंगालेको र विश्वमा विकास भईरहेको शैक्षिक तथा प्रविधियुक्त नयाँ विषयहरु विद्यालयमा भित्र्याएको बताए ।
अध्यक्ष पालिखेले ५ कक्षासम्म आईपीसि कक्षा संचालन गरिएको, कक्षा १ देखि १० सम्म थ्रि डिआई कक्षा संचलन गरिएको, कक्षा ६ देखि ८ सम्म चाईनिज भाषा संचालन गरिएको र मिडास कक्षा ५ सम्म संचालन गरिएको बताए । विद्यालयमा २०७९ सालबाट कक्षा १२ सम्म साईन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्टका विषयको अध्यापन भईरहेको बताए ।
‘विभिन्न उतारचढावका बीच हामी आजको स्थानमा आइपुगेका छौं । वार्षिकोत्सवमा हामीले हाम्रा सम्पूर्ण शुभचिन्तक, शुभेच्छुक, अभिभावक एवं सबैलाई सम्झेका छौं,’ अध्यक्ष पालिखे भन्छन् । बिद्यालयले औपचारिक शिक्षा मात्र नभई अन्य अतिरिक्त क्रियाकलाप पनि जोड दिएको अध्यक्ष पालिखेले बताए । ‘विभिन्न प्रतियोगितामा विद्यार्थीले कला तथा प्रतिभा प्रर्दशन गरि उत्कृष्ट बन्न सफल भएका छन् । जसमा विद्यार्थीले नगद पुस्कारसहति विभिन्न पुरस्कार प्राप्त गरेका छन्,’ उनले भने ।
‘हामीले विद्यालय भवन मात्र बनाएका छैनौं त्यसमा संस्कृति पनि झल्काएका छौं । करिव २ सय वर्ष पुराना संस्कृति झल्कने खालका झ्याल ढोका राखेका छौं । यसलाई सम्पदाको रुपमा विकास गर्ने हाम्रो उद्देश्य छ,’ अध्यक्ष पालिखेले भने । विद्यालयमा जेके आर्ट म्युजियम पनि छ । उनले भने, ‘चित्रकलाको संकलन र संरक्षण गरेका छौं । चतुररत्न नेपाली, नेपालकै पहिलो विएफए गरेका कलाकारदेखि अहिलेका नाम चलेका कलाकारको पेन्टिङ राखेका छौं । करिव ३ सय भन्दा धेरै पेन्टिङ छन् । विद्यालयलाई घर कै रुपमा हामीले विकास गरेका छौं । पर्यावरण जोगाउनुपर्छ भन्ने सन्देश दिनका लागि विद्यालय परिसरमा विरुवा पनि रोपेका छौं । हरेक विरुवामा त्यस वायोलोजिकल र साइन्टिफिक नाम लेखेका छौं ।’
पठनपाठनलाई आधुनिक र समय सापेक्ष बनाउन आफूहरु सफल रहेको अध्यक्ष पालिखेले बताए । ‘पोखरामा रहेर हामीले विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्न सफल छौं,’ उनले भने । विद्यालय २०४४ साल पुस २ गते स्थापना भएको थियो । करिव ८ रोपनी जग्गामा विद्यालय फैलिएको छ ।

उत्कृष्ट बिद्यार्थी पुरस्कृत
नर्सरीदेखि १२ सम्म उत्कृष्ट हुने विद्यार्थीलाई विद्यालयले पुरस्कृत गरेको छ । विद्यालयमा विभिन्न उत्कृष्ट गतिविधि गर्ने विद्यार्थीलाई पनि विद्यालयले पुरस्कृत गरेको छ ।
विद्यालयले ३७औैं स्थापना दिवसको अवसरमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने राजनराज आचार्यलाई कुमुदिनी विद्यापदकबाट सम्मान गरेको छ । उनलाई नगद १५ हजार, विद्यापदक, फूलमालासहित सम्मान गरिएको हो । यस्तै विद्यालयले कक्षा १ देखि ९ सम्मका हरेक कक्षाबाट उत्कृष्ट १०/१० जना विद्यार्थीलाई सम्मान गरेको थियो ।
यस्तै वेष्ट प्रिफेक्ट २०७९ तर्फ इरिन गुरुङ कक्षा १० बी र कक्षा १० सी कि मानुसी भण्डारीलाई सम्मान गरिएको छ । स्पोर्टस् स्टार अफ द इयर २०७९ बाट प्रमिस थापा कक्षा १० सी, आयुश्री पहारी १० सी रहेका छन् ।
डान्स स्टार तर्फ बिवेक सुवेदी कक्षा ७ ए, दिलासा तामाङ १० बी, बेष्ट आर्टिष्ट अफ द इयरतर्फ सदिक्षा राना कक्षा १२ विज्ञान, बेष्ट म्युजिक अवार्डतर्फ सिजन लम्साल ४ बी र कुमुदिनी लिटरेरी अवार्ड जेसिका बानियाले १० सीले प्राप्त गरिन् ।

कर्मचारीलाई सम्मान
विद्यालयले २० वर्ष काम गरेका कर्मचारीलाई सम्मान गरेको छ । सावित्री वराललाई नगद २० हजार, दोसल्ला, माला र सरस्वतीको मूर्ति अर्पण गरेको छ । २१ वर्ष लेखामा सेवा गरेकी कमला थापालाई नगद १५ हजार, दोसल्ला लगाई सम्मान गरिएको छ । यस्तै ड्राईभर सुरज शर्मालाई नगद ७ हजार, दोसल्ला र माला, बेष्ट सिस्टर सनम शाक्यलाई नगद ७ हजार, दोसल्ला र माला, अलराउण्डर सजिना गुरूङलाई ७ हजार, दोसल्ला र माला तथा बलेश्वर गुरुङलाई नगद ७ हजार, दोसल्ला र माला लगाएर सम्मान गरियो ।
सोहि अवसरमा विद्यालयले लोटस फाउण्डेशन जर्मनीबाट आएको खाजा खर्चबापत १ लाख १० हजारमा हिमालयन प्रावि लप्सिटाकुराका प्रधानाध्यापक माधव गौतम र बाराही प्रविका प्रअ राम आचार्यलाई ५०/५० हजार हस्तान्तरण गरेको छ । यस्तै अपांगता तथा मैत्री समाज भण्डारढिकका लागि खाद्यान्न सामग्रि हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा सबै तहका विद्यार्थीहरुले विभिन्न समुदाय र स्थानमा प्रचलित गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । समारोहको व्यवस्थापनका लागि सहप्राचार्य मनबहादुर भुजेल, मुकेशकुमार अधिकारी, शिक्षिका सजनी माजु लगायतको शिक्षक शिक्षिका खटेका थिए । विद्यालयका अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागि सबैलाई कक्षा १२ कि विद्यार्थी रचना तिवारीले स्वागत गरेकी थिईन । कार्यक्रमको संचालन शिक्षक केशव अधिकारीले गरेका थिए ।

रहेको मानव सेवा आश्रममा खाध्यान्न सामग्री तथा नगद हस्तान्तरण

विद्यालयको ३७औं स्थापना दिवसको अवसरमा विद्यालयले शुक्रबार पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा खाध्यान्न सामग्री तथा नगद हस्तान्तरण गरेको छ ।
विद्यालयका संचालिका मीना पालिखेले विद्यालयको तर्फबाट खाद्य सामग्री तथा ५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेकी हुन् ।
विद्यालयबाट ३५ जना विद्यार्थी र पाँच शिक्षकसहित ४० जनाको टोली आश्रममा गएको सह प्राचार्य मनबहादुर भुजेलले जानकारी दिए ।
सेवा नै धर्म हो । मानवद्वारा मानव सेवामा समर्पित जीवन रुपान्तरणको प्रक्रियामा सामेल हुनु नै मुख्य उदेश्य भएको भुजेलले बताए । उनले पढाइको साथसाथै विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताए ।
आश्रममा ११४ जना अनाथ, अपांगता भएकाहरु, बृद्धबृद्धा र मानसिक स्वास्थ्य समस्या भएकाहरु रहेका छन् । यसको सुरुआत २०६९ साल भदौ १४ गतेबाट ५ जनाले मुठ्ठिदान अभियान चलाएर गरिएको थियो ।
कार्यक्रममा मानव सेवा आश्रमको तर्फबाट सदिस पुनले आश्रमका बारेमा सहभागि विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी गराएका थिए । सो अवसरमा विद्यार्थीहरुका लागि मानवसेवा आश्रमको गितिविध बारेमा तयार पारिएको श्रव्यदृश्य देखाइएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।