कांग्रेसलाई अन्र्तघात मुक्त पार्टी बनाऔं : सभापती देउवा


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित




पुस ३ पोखरा । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले पार्टीलाई अन्र्तघात मुक्त बनाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको उद्घाटन शत्रलाई मंगलबार पोखरामा सम्बोधन गर्दै उनले कांग्रेसमा अन्र्तघात रोगको रुपमा रहेकाले यसबाट पार्टीलाई मुक्त बनाउनुपर्ने बताएका हुन् । हाम्रो पार्टीमा एकले अर्कोलाई हराउन लाग्ने, अन्र्तघात गर्ने रोग छ,उनले भने,‘तर अब पार्टीलाई अन्र्तघात मुक्त बनाउनु पर्छ ।’ उनले विगतमा अन्र्तघातका बाबजुदपनि पार्टी सबभन्दा ठूलो पार्टी बनेको बताए ।

उनले पार्टीका नेताहरु एकताबद्ध हुँदैन कि भन्ने चिन्ता सर्वत्र रहेको बताउँदै भने,‘सबै मिलेर लाग्यौं भने भोलिका दिनमा हाम्रो पार्टी सबभन्दा ठूलो पार्टी बन्छ ।’ देशभरी अहिले कांग्रेस कार्यकर्तामा उत्साह आएको उनले बताए । उनले भने,‘जसरीपनि कांग्रेसलाई एक गराएर आपसमा मेलमिलाप गराएर, एकता गराएर बहुमतको पार्टी बनाउनु छ । बहुमत नआएपनि ठूलो पार्टी बनाउन सकिन्छ । मलाई विश्वास छ बन्छपनि ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापती देउवाले कुनै न कुनै पार्टीसँग सरकार बनाउनुपर्ने बाध्यता रहेको बताए आफू भन्दा अगाडिका वक्ताहरुले अन्य पार्टीसँग कांग्रेस मिलेकोमा विरोध जनाएपछि माओवादीलगायतका दलसँग मिलेर बनाएको सरकारको बचाउ गर्दै उनले भने,‘अहिलेको निर्वाचन प्रणाली कुनै एक पार्टीको बहुमत आउने खालको छैन । अहिलेको अवस्थामा कुनै एक दलको बहुमत आउन धेरै गाह्रो कुरा हो । त्यसैले कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ । यो अहिलेको आवश्यकतापनि हो ।’ सभापती देउवाले कांग्रेसको सिद्धान्त र आदर्श बहुदलीय प्रजातन्त्र भएको बताए ।

यहि सिद्धान्त र आदर्शलाई मानेर अन्य पार्टीपनि बहुदलीय प्रजातन्त्रमा आएको उनको भनाई थियो । हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टीहरु आएका छन्,उनले भने,‘मल्टी पार्टी डेमोक्रेसी हाम्रो सिद्धान्त र आदर्श हो । यसलाई पूर्ण बनाउनका लागि समावेशी र समानुपातिक राखिएको छ ।’

नेपाली कांग्रेसका उपसभापती तथा न्याय तथा कानून्मन्त्री धनराज गुरुङले अध्यादेश ल्याएर भएपनि संघीयतालाई बलियो बनाउने बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले संघले निजामती ऐन र प्रहरी ऐन नल्याईदिदा संघीयता कमजोर बनेको भनेर टिप्पणी गरेपछि त्यसको जवाफ दिदै संघ सरकारका कानून्मन्त्री गुरुङले भने,‘कानून्मन्त्री आफैले ल्याउन मिल्ने भए ४० वटा ऐन होईन, सबै ऐन ल्याईसक्थेँ तर सम्बन्धित मन्त्रालयले ऐनको मस्यौदा बनाएर पेश गर्नुपर्ने विद्यमान अवस्था छ । तर अध्यादेश ल्याएरपनि संघीयतालाई भने बलियो बनाउँछौं ।’

महामन्त्री शर्माले कांग्रेस नभई कांग्रेसजन बिग्रिएको टिप्पणी गरे । कांग्रेसमा केहि गडबडी छैन,उनले भने,‘बिग्रेको छत कांग्रेजन बिग्रेका छन् ।’ उनले एउटा चुनाव सकिएलगत्तै अर्को चुनावको मिसन शुरु हुनु विडम्वनापूर्ण भएको टिप्पणी गरे । चुनावको होईन, देशको चिन्ता गरौं,उनले भने,‘हरेक चुनावपछि अर्को चुनावको चिन्ता नगरौं । बरु अहिले काम गरौं, मिसन ८४ अभियान अहिल्यै चलाउनु आवश्यक छैन ।’

महामन्त्री गगन थापाले रुख चिह्नबिरुद्ध लाग्नेलाई पार्टीबाट सँधैका लागि बिदा गर्नुपर्ने बताए । पार्टीमा पद र अवसर लिनेहरुले चुनावमा अन्र्तघात गर्नेगरेको बताउँदै उनले भने,‘तर नेता र नेतृत्वले गल्ती गर्दा चौतारीमा बसेर आलोचना गर्नेहरु अहिले रिसाएका छन् । उनीहरु ती व्यक्तिहरु हुन् जो चुनावमा रुखबाहेकमा भोट हाल्दैनन् ।’ त्यसैले अब कांग्रेसले कसैसँग गठबन्धन गर्न नहुने बताउँदे उनले अगाडि थपे,‘त्यसैले ती ईमान्दार २२ लाख कार्यकर्तालाई भन्नैपर्छ हामी हारे हारौंला, सिंहदरबार वा धुलो जे हुन्छ त्यसमा बसौंला । अब आईन्दा कुनैपनि चुनावमा कांग्रेसजनको आस्थामा कुनै असर पर्न दिन्नौं । रुख भन्दा अरु कुनैपनि ठाउँमा भोट हाल्नु पर्दैन भनौं ।’ अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई बचाउन नया कांग्रेस तर पुरानो भावनाको कांग्रेस बनाउनुपर्ने बताए । उनले आगामी फागुन ७ गते तोकिएको महासमिति बैठक अब कुनैपनि हालमा नसर्ने दाबी गरे । ‘अहिले समस्या प¥यो र सरेको हो । तर फागुन ७ गते तोकिएको महासमिति बैठक कुनैपनि हालतमा सर्दैन’–उनले भने ।

बरिष्ठ नेता शेखर कोईरालाले पार्टी सभापती शेरबहादुर देउवालाई सभापती चुनिएपछि गरेका कामको फेहरिस्त मागे । तपाईंले अहिलेसम्म के के काम गर्नुभयो ? उनले भने,‘तपाईंले गरेका कामको रिपोर्ट कार्ड पेश गर्नूस् ।’ उनले नेतृत्वमा व्यक्तिवादी चरित्र रहेको भन्दै त्यो सुधार्न आग्रह गरे ।

पूर्व महामन्त्री सशांक कोईरालाले अहिलेको संविधानबाट धर्म निरपेक्ष व्यवस्था हटाउनुपर्ने बताए । धर्म निरपेक्षताको अर्थ धर्म नमान्ने हुने भन्दै उनले भने,‘धर्मनिरपेक्ष भन्ने शव्दले नेगेटिभ अर्थ दिन्छ । त्यसैले यसलाई संविधानबाट हटाउनुपर्छ ।’ उनले नेताहरुको बुद्धि नहुँदा देशको विकास नभएको टिप्पणी गरे । ‘त्यसैले त अहिले युवाशक्ति विदेशिएका छन् । उनीहरुलाई रोक्नुपर्छ त म भन्दिन तर यही बस्ने वातावरण भने बनाउनुपर्छ’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।