पोखरा, मंसिर ५
पोखरा–३ की १७ वर्षिया किशोरी सुहाना (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । आफ्नो केटा साथी (ब्यायफ्रेण्ड)सँग सहमतिमै सहवास भएपनि बच्चा पाउने उनीहरुको चाहना थिएन । चाहना विपरित अनिच्छित गर्भ बसेपछि उनीहरुले गर्भपतन गर्ने उपाय रोजे । गर्भपतन गर्ने त भने तर गर्भपतन गर्ने ठाउँसम्म जाने हिम्मत गरेनन् । कसैले देख्लान् कि भन्ने डरले उनीहरुलाई खायो । जाउँ कसैले देख्लान् भन्ने डर, नजाउँ जसरीपनि गर्भपतन जसै नगराई नहुने थियो । तर उनीहरु त्यहाँ गएनन् बरु विहे गर्ने विकल्प अप्नाए ।
पोखरा–४ की नविना (नाम परिवर्तन)को दोश्रो गर्भमापनि छोरी बस्यो । छोराको रहरले दोश्रो सन्तान जन्माउन खोजेका उनी र उनको श्रीमान दोश्रो सन्तानपनि छोरी नै हुने भएपछि चिन्तित भए । अन्त्यमा उनीहरुले गर्भपतन गर्ने विकल्प रोजे । तर गर्भपतन गर्ने मान्यता पाएको संस्थामा जाने हिम्मत भने उनीहरुमापनि आएन । त्यसैले नजिकैको क्लिनिकमा गएर श्रीमानले गर्भपतन गराउने औषधी किनेर ल्याएर श्रीमतीलाई खान दिए । औषधी खाएपछि गर्भपतन त भयो तर ब्लिडिङ रोकिएन । निरन्तर ब्लिडिङ भएर कमजोर हुँदापनि श्रीमानले अवैध गर्भपतन गरेको भेद खुल्ने डरले उपचारका लागि अस्पताल लगेनन् । पछि छिमेकीको सहारामा अस्पताल पुगिन् र ज्यान बच्यो ।

केहि साताअघि स्याङ्जाकी एक किशोरी विरामी भएपछि परिवारका सदस्यले पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याई पु¥याए । चेकजाँचका क्रममा उनको पेटमा ७ महिनाको गर्भ रहेको खुल्यो । उमेरले १४÷१५ वर्षकी अविवाहित किशोरीको कोखमा अवैध गर्भ रहेको खुलेपछि केरकार गर्दा गाउँकै एक किशोरसँगको अवैध सम्बन्धबाट गर्भ रहेको पत्ता लाग्यो । पछि योपनि खुल्यो कि किशोरीलाई पहिल्यै गर्भ बसेको शंका थियो तर आफन्त र समाजको डरले केहि भनिनन् । जसको परिणाम स्वरुप किशोरावस्थामै आमा बन्न बाध्य बनिन् ।
यी माथिका दृष्टान्त प्रतिनिधिमूलक घटना मात्र हुन् । समाजमा यस्ता घटना दिन दुई गुणा र रात चारगुणा बढ्दो छ । कारण हो गर्भपतनलाई हेर्ने नेपाली समाजको गलत सोंचाई । पहिलो कुरा गर्भपतन सम्बन्धी आम मान्छेको धारणा नै गलत छ । जसका कारण गर्भपतन गर्ने महिलामाथि लाञ्छना लगाउने गरिन्छ । सोहि कारण किशोरीहरु अनिच्छित गर्भ बोकेपछि या त विवाह गर्न बाध्य हुन्छन् या त आत्महत्याजस्तो डरलाग्दो बाटो रोज्न पुग्छन् ।
दोश्रोचाहिं ईच्छित गर्भ भएपनि छोराको चाहनाका कारण गर्भपतन गर्न चाहन्छन् । तर समाजको हेर्ने दृष्टिकोण र नेपालको कानूनले भ्रुणको लिंग पहिचान गर्न र भ्रुण हत्या गर्न निषेध गरेकाले उनीहरु बाध्य भएर सन्तानको संख्या थपिरहन्छन् ।
त्यसैले यस्ता समस्या समाधान गर्न गर्भपतनलाई सस्तो, सहज र पहुँचयुक्त बनाउनुपर्ने स्वास्थ्यविद् नवराज भट्टराई बताउँछन् । भन्छन्,‘गर्भपतन गर्ने÷नगर्ने कुरा सरोकारवाला पक्षको नितान्त पारिवारिक विषय हो । यसमा कसैले हस्तक्षेप गर्न मिल्दैन ।’ तोकिएको स्वास्थ्य संस्थामा जाँदा लाञ्छना भोग्नुपर्ने डरले धेरैले गर्भपतन गर्दैनन्,उनले भने,‘त्यसैले निर्धक्कका साथ गर्भपतन गर्ने÷गराउने वातावरण निर्माणमा जोड दिनुपर्छ ।’ त्यसका लागि निश्चित ठाउँहरु मात्रै नभई नीजि क्षेत्रका सबै स्वास्थ्य संस्थामा गर्भपतन गराउन मिल्ने बनाउनुपर्ने उनको तर्क छ ।
स्त्रीरोग विशेषज्ञ डा.गिरीधारी शर्मा भने त्यसरी जथाभावी गर्भपतन गर्न दिदा समस्या निम्तिन सक्ने बताउँछन् । गर्भवती आमाको स्वास्थ्यलाई ध्यानमा राखेर गर्भपतन गर्ने निश्चित ठाउँहरु तोकिएका हुन्,‘जथाभावी गर्भपतन गराउँदा गर्भवती आमाको स्वास्थ्य नै जोखिममा पर्नसक्ने खतरा रहन्छ । अनि लिंग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्यो भने त जनसंख्या नै अनव्यालेन्स भईहाल्छ नि ! ।’ मातृ मृत्यूदर घटाउने उद्देश्यले निश्चित ठाउँमा गर्भपतन गर्ने व्यवस्था गरिएकाले बरु यसलाई थप पहुँचयुक्त बनाउन त्यस्ता ठाउँहरुको संख्या थप्ने र स्वास्थ्यका कर्मचारीलाई तालिम दिएर निपूर्ण बनाई खटाउनुपर्ने उनको सुझाव छ ।
म्हिला अधिकारवादी नेतृ बिना सिलवालपनि स्वतन्त्रताको नाममा स्वच्छन्दता स्वीकार्य नहुने बताउँछिन् । सामान्य पसलमापनि गर्भपतन गराउँदा वा गर्भपतन गराउने औषधी बेच्दा समाजमा विकृति भित्रिने उनको भनाई छ । ‘हरेक कुराको सीमा हुन्छ । गर्भपतन गर्ने स्वतन्त्रता दिनुपर्छ तर जथाभावी गर्नभने दिनु हुँदैन’–उनले भनिन् ।
कास्कीमा वार्षिक तीन लाख बढीले गर्भपतन गराउने गरेको अनुमान गरिन्छ । तर वैधानिक रुपमा गर्भपतन गर्ने करीब १० प्रतिशतपनि पुगनपुग रहेको बताईन्छ । बाँकी सबैले आफूखुशी नजिकको क्लिनिकबाट औषधी खरिद गरेर गर्भपतन गर्नेगरेको दाबी गरिन्छ ।
प्रदेश स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेशका जनस्वास्थ्य निरीक्षक लालुप्रसाद शर्मा रिमालले सुरक्षित गर्भपतनका लागि वर्षेनी तालिम गर्दै आएको बताए । तालिम प्रभावकारी भएको र वर्षेनी ३०÷३५ जना दक्ष जनशक्ति उत्पादन भइरहेको उनको भनाई छ । तर गाउँ, समाजमा गर्भपतनलाई हेर्ने दृष्टिकोण नकारात्मक भएकाले सुरक्षित गर्भपतनका लागि तोकिएको स्वास्थ्य संस्थामा भने जान हिच्किचाउने गरेको पाइएको रिमालले बताए । अनिच्छुक गर्भ फाल्न पाउने व्यक्तिको अधिकार हो, उनले भने,‘तर जथाभावी औषधी प्रयोग गर्दा आमाको स्वास्थ्य नै जोखिममा पर्न सक्छ । त्यसैले तोकिएकै स्वास्थ्य संस्थामा जानुपर्छ ।’ यसका लागि जनचेतना जगाउन आवश्यक रहेको उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







