पुस १६ पोखरा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीपङ्क्तिमा नयाँ जागरण पैदा गरेको बताएका छन् ।
पार्टीको पोखरा महानगर कमिटीले अभियानको समापनका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले चाडपर्व, भूकम्पलगायत कारणले अभियानलाई केही प्रतिकूल प्रभाव पारे पनि अभियानले पार्टीलाई जनतासँग जोड्ने काममा सफलता प्राप्त गरेको उल्लेख गरे ।
प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका नेता पौडेलले भने, “यस अभियानले पार्टीका नेता कार्यकर्ताहरुमा नयाँ उत्साह कायम गरेको छ र पार्टीमा नयाँ जागरण पैदा भयो । पार्टी सङ्गठनलाई स्वचालित बनाउन अभियान कोशेढुङ्गा साबित भएको निष्कर्ष निकालेका छौँ ।”
नेता पौडेलले कार्यसम्पादनका आधारमा नेता तथा कार्यकर्ताको मूल्याङ्कन हुने र जिम्मेवारी प्रदान गर्ने प्रणालीको विकास गरिने बताए । “फिल्डमा नजाने तर अध्यक्ष कहाँ गएर अनुहार देखाएर वा अरू कुनै प्रकारले प्रभाव पारेर जिम्मेवारी प्राप्त गर्ने कुरा अब पार्टीमा अन्त्य भएको छ,” सचिव पौडेलले भने, “नेताहरुको मूल्याङ्कन अब फिल्डमा कति काम ग¥यो, कति समय दियो भन्ने आधारमा हुनेछ ।”
नेता पौडेलले चार महिनाको अभियानका क्रममा जनताबाट प्राप्त सुझावका आधारमा अब पार्टीलाई सञ्चालन गरिने स्पष्ट पारे । पार्टीको छिट्टै हुने विधान अधिवेशनले पार्टी कमिटी र सङ्गठनलाई स्वचालित प्रणालीमा सञ्चालन गर्ने विधि बनाउने उनको भनाइ थियो ।
नेता पौडेलले अझै पनि श्रमिक, उत्पीडित वर्ग, समुदायको विश्वास माओवादीप्रति नै रहेको जिकिर गर्दै सुकुम्बासी समस्या, मजदुरका समस्यालाई पार्टीको नेतृत्वमा रहेको सरकारले पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाए ।
पार्टीका केन्द्रीय सदस्य एवं पोखरा महानगरपालिकाका इन्चार्ज पारशमणि पौडेलले अवसर खोज्ने तर चुनौतीको सामना गर्न नसक्ने प्रवृत्ति नेता कार्यकर्तामा रहेकाले सोको अन्त्य आवश्यक रहेको बताए । उनले अभियानका क्रममा पोखराका ३३ वटै वडामा पार्टीका बैठक, भेला, प्रशिक्षण सरसफाइ तथा वृक्षरोपणलगायत कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।
पार्टीका अनुशासन आयोगका सदस्य कोमलनाथ बरालले पार्टीलाई क्रियाशील बनाउन अझै मेहनत गर्नुपर्ने र लाग्नुपर्ने बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





