गण्डकी सरकारले बाँढ्यो मनाङ र मुस्ताङका किसानलाई १९ वटा याक


     एभरेस्ट आवाज    
     पौष १७ गते २०८० मा प्रकाशित




पोखरा, पुस १७

गण्डकी प्रदेश सरकारले याक तथा चौरी पालक किसानलाई १९ वटा उन्नत प्रकारको याक वितरण गरेको छ । गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था तथा कृषि मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले मनाङ र मुस्ताङका किसानहरुलाई १९ वटा याक वितरण गरेको हो । गण्डकी सरकारले किसानलाई उन्नत याक वितरण गरेको यो पहिलो पटक हो ।

याकको नश्ल तथा जातीय सुधारका लागि निर्देशनालयले मनाङमा ९ वटा र मुस्ताङमा १० वटा याक वितरण गरेको निर्देशनालयका प्राविधिक अधिकृत सुरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुस्ताङको हिमालयन चौरी संरक्षण समिति र मनाङको याक तथा चौरी संरक्षण संस्थालाई याक हस्तान्तरण गरिएको छ । निर्देशनालयमा मंगलबार साँझ आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले याक हस्तान्तरण गरेका हुन् । समितिले पछि मनाङ र मुस्ताङमै लगेर किसानका समूह तथा संस्थालाई याक हस्तान्तरण गर्ने उनले बताए ।

किसानलाई वितरण गरिएको याक निर्देशनालयले २० लाख खर्चेर याक अनुवांसिक श्रोत केन्द्र स्याङ्बोचे सोलुखुम्बुबाट खरिद गरेको हो । पुस १२ गते नै स्याङ्बोचेबाट हिंडेको याक सल्लेरीसम्म हिंडाएर ल्याइएको र त्यहाँबाट पोखरासम्म गाडीमा ल्याइएको श्रेष्ठले जानकारी दिए ।

मनाङ र मुस्ताङमा स्थानिय याकबाट ब्रिडिङ गर्दा त्यसबाट जन्मिने बच्चा सामान्य खालको मात्रै भएपछि याकको नश्ल तथा जातीय सुधारका लागि सोलुखुम्बुको स्याङ्बोचेमा स्थित याक अनुवांसिक श्रोत केन्द्रबाट याक खरिद गरेर वितरण गरिएको उनको भनाई छ । यसले आगामी दिनमा मनाङ र मुस्ताङमा उन्नत प्रकारको याक तथा चौरी उत्पादन गर्न सघाउने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।