निसीखोलाको लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित




पोखरा । बागलुङको निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । जिल्लाको निकै दुर्गम मानिने लेबाङमा स्थानीयले स्वास्थ्य सेवा दिनका लागि निसीखोला गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको हो । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्थे ।

गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्य चौकीमा ल्याएर उपचार गराउने गरेको भन्दै अब त्यो समस्या समाधान भएको पुनको भनाइ छ । गाउँपालिकाले ढिलै भए पनि विकट गाउँका जनताको समस्या समाधान गरिदिएको उनी बताउछन् ।

“अस्पताल नजिक थिएनन, गाउँमा कोही बिरामी पर्यो भने बोकेर देवीस्थान पुग्नुपथ्र्यो, देवीस्थान र बुर्तिबाङ पुर्याउनुको विकल्प थिएन”, उनले भने, “यहाँ ठूलो रोगको उपचार त हुँदैन तर सानातिना रोग लागे, घाउचोट लागे नजिकै उपचार गर्न पाइने भयो, ज्वरो आयो, टाउको दुख्यो भने औषधि पनि गाउँघरमै पाइने सुविधा आयो ।”

लेबाङमा करिब छ सय घरधुरीका छन् । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले हाल एक अहेव र एक कार्यालय सहयोगीको व्यवस्था गरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरेको भन्दै थप स्वास्थ्यकर्मीसहित जनशक्ति विस्तारै बढाउँदै जाने बताए । एकाइ सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरेको अध्यक्ष घर्तीमगरले जानकारी दिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।