लमजुङमा सुन्तला उत्पादनमा ह्रास


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८० मा प्रकाशित




लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता, बोटमा रोग लाग्नेलगायत कारण सुन्तला उत्पादनमा कमी आएको हो ।

बेँसीसहर नगरपालिका–११ चिती स्याउतका भगवती पन्तले १३ रोपनी जग्गामा छ सयभन्दा बढी सुन्तलाको बोट लगाएका छन । उनले एक दशकअघि बर्सेनि रु. छ लाखदेखि रु सात लाखसम्म आम्दानी गर्दै आएका थिए । तर पछिल्लो समय बर्सेनि पन्तको सुन्तला बगैँचा सखाप हुँदै गएको छ । यस वर्ष मुस्किलले रु ८० हजारसम्म आम्दानी गरेको उनको भनाइ छ । घर खर्च चलाएर पनि बचत हुने गरेकामा यतिबेला सुन्तला उत्पादन घट्दै गएको पन्तले बताए ।

जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत गरेको स्याउत गाउँमा केही वर्षदेखि सुन्तला उत्पादन घट्दै गएको छ । एक दशकअघिसम्म गाउँभरिका बगैँचाबाट वार्षिक रु दुई करोडसम्म सुन्तला बिक्रीबाट किसानले आम्दानी गरेका थिए । छ-सात वर्षयता रु १० लाखसम्म मात्रै आम्दानी गरेका स्थानीय रमेशराज पन्तले बताए । विगत वर्षमा पर्याप्त सुन्तला उत्पादन हुने चिती, गाउँसहर, सिम्पानी, भोर्लेटार, कुन्छा, गहते, दुराडाँडा, राइनास, भोजे, उदिपुर घिमिरेलगायतमा समेत उत्पादनमा कमी आएको किसानले बताएका छन् ।

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विजय पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८०-८१ मा जिल्लामा एक सय ३० हेक्टर क्षेत्रफलमा लगाएको सुन्तला खेतीबाट चार सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत आर्थिक वर्षमा जिल्लामा एक सय २५ हेक्टर जमिन क्षेत्रफलमा लगाइएको सुन्तला खेतिबाट पाँच सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । सुन्तला खेती गरेको क्षेत्रफल वृद्धि भएपनि उत्पादन एक सय २५ मेट्रिक टन कम भएको सूचना अधिकारी पौडेलले बताए ।

त्यस्तै, आव २०७८-७९ मा एक सय ८० हेक्टर क्षेत्रफलमा एक हजार दुई सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७७-७८ मा दुई सय १३ क्षेत्रफलमा एक हजार चार सय २४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । पछिल्ला वर्षमा क्रमशः क्षेत्रफल र उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । विभिन्न रोग, कीरा लाग्नुका साथै सुन्तला उत्पादनतर्फ किसानको पर्याप्त ध्यान नपुगेकाले उत्पादनमा कमी आएको केन्द्रले जनाएको छ ।

सुन्तलाको बोट तथा सुन्तलामा कत्लेकीरा, पतेरोलगायतका कीराले बिरुवा तथा बोटमा रोग सार्ने र सिट्रेस डिक्लाइन (उत्पादनमा ह्रास हुने रोग), ग्रिनिङ भाइरसजस्ता रोग लाग्ने तर गोडमेल, स्याहार, सिँचाइको व्यवस्था, बिरुवा छनोटजस्ता काममा सुन्तला किसानले ध्यान नपुगेकाले सुन्तला बगैँचा मासिँदै गएको छ । जिल्लामा उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, चितवनलगायत सहरमा बिक्री गर्ने गरिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।