अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका


     एभरेस्ट आवाज    
     पौष २४ गते २०८० मा प्रकाशित




पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छ वटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका दरले सो रकम प्रदान गर्न लागेको हो । महानगर प्रमुख धनराज आचार्यले दुवै पालिकाको समन्वयमा द्विपक्षीय हितका लागि यो रकम खर्च हुने जानकारी दिए । यसका लागि महानगरको आयोजनामा पालिकाका प्रमुख र उपप्रमुखसँग समन्वयात्मक बैठक समेत आयोजना गरिएको थियो ।

“अन्तरपालिका साझेदारी कार्यक्रम कार्यान्वयनका सम्बन्धमा समन्वयात्मक छलफल गरेका हौँ । छिमेकी पालिकालाई रु. २५ लाखका दरले रकम प्रदान गर्ने र समन्वयमा खर्च गर्ने महानगरको बजेट कार्यक्रममा राखिएको विषयलाई कार्यान्वयन गर्न सुरु गरेका छौँ”, प्रमुख आचार्यले बताए ।

महानगरको चालु आर्थिक वर्ष २०८०-०८१ को वार्षिक बजेट तथा कार्यक्रममा छिमेकी पालिकासँग आवश्यकताका आधारमा साझेदारीमा आयोजना सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको थियो । बैठकमा कास्कीको रुपा, अन्नपूर्ण, मादी र माछापुच्छ्रे गाउँपालिका सहित स्याङ्जाको फेदीखोला र तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख र उपप्रमुखको सहभागिता थियो ।

सो क्रममा छिमेकी पालिकामा भए-गरेका असल अभ्यास र विकास निर्माणका कार्यक्रम सञ्चालन गर्दैगर्दाका अनुभवसमेत आदानप्रदान गरिएको छ । आगामी बैठक कास्कीको रुपाको व्यवस्थापनमा तीन महिनाभित्रमा बस्ने जनाइएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।