व्यवस्था परिवर्तनका लागि बृहत मोर्चा बनाउन कमल थापाको आह्वान


     एभरेस्ट आवाज    
     पौष २४ गते २०८० मा प्रकाशित




पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बिचार मिल्नेहरुसँग बृहत मोर्चा बनाउन आह्वान गरेका छन् । राप्रपा नेपाल कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको व्यवस्था बदल्न बृहत मोर्चा बनाउनका लागि आह्वान गरेका हुन् ।

ब्यबस्थाकै कारण राजनीति अस्थिर भएको तथा विकास र समृद्धि हासिल हुन नसकेको उनको दाबी थियो । अहिलेको व्यवस्था नै खराब हो,उनले भने‘यो व्यवस्थामा जो सरकारमा गएपनि केहि गर्न सक्दैन ।’ नेपाल अहिले अभिभावकविहीन भएको र यसका कारण शक्ति राष्ट्रसामु नेपाल निरीह हुनेगरेको उल्लेख गरे ।

अध्यक्ष थापाले व्यवस्था नै खराब भएकाले यो नबदलिएसम्म देशमा शान्ति, स्थिरता, विकास र समृद्धि नहुने दाबी गरे । त्यसैले व्यवस्था बदल्नुपर्छ,उनले भने,‘यसका लागि एक्लाएक्लै लडेर जनआन्दोलन हुँदैन । अनि त्यसरी भएको आन्दोलनले व्यवस्थापनि बदलिदैन ।’

उनले त्यसरी बनाइने बृहत मोर्चाको नेतृत्वपनि सामुहिक बनाउनुपर्ने बताए । बिचार मिल्नेहरुको मोर्चा बनाउन सकिन्छ र सक्छौंपनि । अनि नेतृत्वपनि सामुहिक बनाऔं’–उनले भने । यदि त्यस्तो मोर्चा बनेको खण्डमा त्यसको नेतृत्व राप्रपा नेपालले दाबी नगर्ने उनले प्रष्ट्याए ।

अध्यक्ष थापाले अबको व्यवस्था राजतन्त्रसहितको हुनुपर्ने बताए । ‘त्यसमा दलदेखि राजासम्म अटाउनुपर्छ’–उनले भने । संवैधानिक राजा भएको तर कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था उपयुक्त हुने उनको भनाई छ । ‘त्यसमा दुई पटक भन्दा बढी प्रधानमन्त्री हुन नपाईने, सांसद नभएकोपनि मन्त्री हुन पाउने व्यवस्था राम्रो हुन्छ’–उनले भने ।

अध्यक्ष थापाले अहिलेको निर्वाचन प्रणालीका कारण देशभक्त, सोझा र ईमान्दारले जित्ने अवस्था नरहेको दाबी गरे । देशभक्तहरु उम्मेदवार भएभने हराउन सबै लाग्छन्,उनले भने,‘त्यसमापनि केहि त संस्थागत रुपमै लाग्छन् । उनीहरुको नाम त भन्न मिल्दैन तर हरेक क्षेत्रमा तिनीहरुको निर्णायक मान्छेहरु छन् ।’

ती व्यक्तिहरु क्रिश्चियन धर्मावलम्वीहरु भएको उनले संकेत गरेपनि प्रष्ट भने बोलेनन् । त्यसबाहेक नया शक्ति उदाउन लाग्यो भने पुराना दलहरुसमेत एकजुट भएर हराउन लाग्नेगरेको बताउँदै उनले भने,‘अहिले राष्ट्रिय सभामासमेत त्यसकै अभ्यास हुन लागेको थियो तर केहि कुरामा नमिलेर मात्रै त्यस्तो भएन ।’

फरक प्रसङ्गमा उनले राजावादी देखिन राजासँगको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ननपर्ने बताए । राप्रपाका नेताहरुले ज्ञानेन्द्र शाहसँगको भेटको तस्बिर सामाजिक सञ्जालमा हालेकोप्रति व्यंग्य गर्दै उनले भने,‘राजावादी देखिन राजासँगको भेटको तस्बिर पोष्ट गर्न जरुरी छैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।