टाइगर कप भलिबल प्रतियोगिता शुरु, पहिलो दिन एपीएफको दोहोरो जीत


     एभरेस्ट आवाज    
     माघ १ गते २०८० मा प्रकाशित




माघ १ पोखरा । पोखरामा सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ । टाईगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको पहिलो दिन सशस्त्र प्रहरीको एपीएफ क्लवले दोहोरो जीत निकालेको छ । एपीएफले पुरुष तथा महिलातर्फको दुबै खेलमा नेपाल पुलिस क्लवलाई पराजित गर्दै दोहोरो जीत निकालेको हो ।

प्रतियोगिता अन्तर्गत भएको पुरुषतर्फको खेलमा एपीएफले नेपाल पुलिस क्लवलाई सोझो सेटमा हरायो । ३४ औं राष्ट्रिय भलिबल खेल प्रतियोगिताको फाईनलमा पराजितहुँदै पुलिसलाई उपाधि सुम्पिएको एपीएफले एक सातापनि नबित्दै पोखरामा सोमबार भएको खेलमा पुलिसलाई हराउँदै हारको बदला लिएको छ ।

प्रतिष्पर्धात्मक खेलमा एपीएफले पुलिसलाई २५–१९, ३३–३१ र २५–१७ ले पछि पार्दै जित निकालेको हो ।

जितसँगै एपीएफले महत्वपूर्ण ३ अंक जोडेको छ भने पुलिस अंकविहीन् बनेको छ ।

सोमबार नै भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले बिजयी शुरुवात गरेको छ । एपीएफले नेपाल पुलिस क्लवलाई ३–२ को सेटमा पराजित गर्दै बिजयी शुरुवात गरेको हो ।

प्रतिष्पर्धात्मक खेलमा एपीएफले पहिलो र दोश्रो सेट समान २५–१८, २५–१८ ले जितेको थियो । त्यसपछि लय गुमाएको एपीएफमाथि पुलिस हाबी भयो । खेलाडी बीचको समन्वय नभएको फाईदा उठाउँदै पुलिसले एपीएफलाई २५–१९ र २५–१८ ले लगातार दुई सेटमा पराजित गर्दै बराबरी ग¥यो ।

तर अन्तिम तथा निर्णायक सेटमा पुनः एपीएफले खेलमा पुनरागमन गर्दै जित निकाल्यो । एपीएफले पाचौं सेटमा पुलिसलाई १५–१३ ले पछि पार्दै जित सुनिश्चित गरेको हो ।

जितसँगै एपीएफले २ अंक जोडेको छ भने पराजित पुलिसले १ अंक प्राप्त गरेको छ ।

महिलातर्फको दोश्रो खेलमा चन्द्रागिरी न्यू–डायमण्ड क्लबले नेपाली सेनाको त्रिभूवन आर्मी क्लवलाई ३–१ को सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । न्यू–डायमण्डले आर्मीलाई २५–२०, २५–१७, २३–२५ र २५–१५ ले पछि पार्दै जित सुनिश्चित गरेको हो ।

जितसँगै न्यू–डायमण्डले महत्वपूर्ण २ अंक प्राप्त गर्दा आर्मी १ अंकमा चित्त बुझाउन बाध्य भयो ।

यसअघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए । कार्यक्रममा बोल्दै उनले गण्डकीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान, कभर्ड हल निर्माणको योजनामा गण्डकी सरकार रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले भलिबल खेल बिकासका लागि इन्डोर कभर्ड हल आवश्यक रहेको भन्दै सो निर्माणका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।

चौथो संस्करणको टाईगर कपमा पुरुषतर्फ तीन बिभागिय टोली नेपाली सेनाको त्रिभूवन आर्मी क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबसहित आयोजक गण्डकी प्रदेश भलिबल संघ, हेल्प नेपाल स्पोर्टस क्लब र श्रीलंकाको आर्मी टिम सहभागी छन् ।

त्यस्तै, महिलातर्फ तीन बिभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभूवन आर्मी क्लब र शसस्त्र प्रहरीको एपीएफ क्लबसँगै चन्द्रागिरी नगरपालिका न्यू–डायमण्ड स्पोर्टस क्लव, आयोजक गण्डकी प्रदेश र भारतको हरियाणा राज्यको महिला पुलिस क्लब सहभागी छन् ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५, उपबिजेताले २ लाख ५५ हजार ५ सय ५५ र तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने जनाइएको छ । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५÷२५ हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्रदान गरिने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।