निसीखोलाका शिक्षकहरुलाई सुचना प्रबिधि सीप विकास(आईसीटी)तालिम


     एभरेस्ट आवाज    
     माघ ७ गते २०८० मा प्रकाशित




पोखरा । बागलुङको निसीखोला गाउँपालिकाका शिक्षकहरुलाई सुचना प्रबिधि सीप विकास (आईसीटी) सम्बन्धि तालिम दिईएको छ ।

निसीखोला गाउँपालिका र कर्मफ्लाइट्स फाउन्डेसन नेपाल, पोखराको संयुक्त आयोजनामा ४ दिवशीय ूसुचना प्रबिधि सीप विकास (आईसीटी)तालिम दिईएको हो ।

तालिमको तीन दिनमा कर्मफ्लाइट्सका आईटी प्रमुख तथा कम्प्युटर प्रशिक्षक सुबाश पौडेलले श्रीरत्न राज्य लक्ष्मी माविमा गापाका १६ वटा विद्यालयका विज्ञान र कम्प्युटर शिक्षकका लागि आईसीटी सामग्रीका विषयमा प्रशिक्षण दिएका थिए भने चौथो दिन स्थानीय शिक्षक त्रय इन्द्रलाल रेग्मी, प्रेमराज पौडेल र सूर्यबद्र घर्तीले निसीखोला गाउँपालिकाको हलमा आईईएम,आईएस र इमिस (एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली)सम्बन्धि तालिम प्रशिक्षण दिएका थिए ।

तालिममा निसीखोला गापा भित्रका १६ वटा विद्यालयका ३३ जना कम्प्युटर र विज्ञान तथा प्रबिधि शिक्षाका शिक्षकहरूको सहभागिता रहेको प्रशिक्षक पौड्यालले बताए ।

शनिबार औपचारिक रुपममा समापन गरिएको तालिमका प्रमुख अतिथि रहेका निसीखोला गापाका प्रमुख प्रशासकिय अधिकृत दिलीप कुमार चन्दले तालिमले स्थानीय समुदायमा प्राविधिक साक्षरता बढाउँदै शिक्षकहरूबीच आईसीटी सीपहरू आदान प्रदान गर्ने र बढाउने विश्वास व्यक्त गरे ।

कर्मफ्लाइटस संस्थाले एडुटेक नेपाल संगको साझेदारी, गाउपालिकाको समन्वय तथा विद्यालयहरुको समेत सहलागानीमा पालिकामा ९ वटा निरमाबि मा सुबिधा पम्पन्न कम्प्युटर ल्याब निर्माण गरि चलायमान गराई सिकाईमा आईसीटीको माध्यमबाट शिक्षामा रुपान्तरण र गुणस्तर वृद्धि गर्न संस्था लागि परेको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताए।

सोही अवसरमा तालिममा सहभागी प्रशिक्षार्थी शिक्षकहरुलाई प्रमाण पत्र वितरण गरिनुका साथै हालै सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्डका उत्कृष्ट प्रस्तुति तथा नृत्य प्रतियोगितामा प्रथम हुन सफल बिद्यालयका बिद्यार्थीहरुलाई गाउपालिका शिक्षा शाखाबाट सम्मान पनि गरिएको शिक्षा शाखा प्रमुख मञ्जु सुबेदीले जानकारी दिईन।

निसीखोला गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नं १ का अध्यक्ष चन्द्र सिंह रामजालीको अध्यक्षता रहेको समापन कार्यक्रम सञ्चालन शिक्षा प्रमुख सुवेदीले गरेकी थिईन् ।

त्यसैगरि सोहि तालिम ढोरपाटन नगरपालिका अन्तर्गतका विद्यालयका शिक्षकहरुलाई पनि प्रदान गर्न सुरु गरिएको छ । तालिम बुर्तिवाङ स्थित उत्तरगंगा माबिको कम्प्युटर प्रयोगशालामा संचालन भएको संस्थाका बाग्लुङ्ग जिल्ला कार्यक्रम संयोजक झम बहादुर कुँवरले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।