प्रदेशलाई पूर्ण अधिकार दिनुपर्छ : मुख्यमन्त्री पाण्डे


     एभरेस्ट आवाज    
     माघ ८ गते २०८० मा प्रकाशित




माघ ८ पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घ सरकारले प्रदेश सरकारलाई पूर्ण अधिकार दिन माग गरेका छन् ।

नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई आज पर्वतमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सङ्घले पूर्ण अधिकार नदिएसम्म प्रदेश सरकारले सोचेअनुसारको विकास गर्न नसक्ने बताए । अधिकार प्राप्ति नहुँदा थुप्रै विषय अड्किएको बताउँदै यसले सङ्घीयतालाई समेत कमजोर बनाएको उनको भनाई थियो ।

केन्द्र सरकारको मात्रै मुख ताक्दा समुन्नत प्रदेश बनाउन नसकिने भएकाले प्रदेशलाई नै समृद्ध बनाउनुको विकल्प नभएको बताए । मुख्यमन्त्री पाण्डेले आयातमा निर्भर र निर्वाहमुखी अर्थतन्त्रलाई रूपान्तरण गर्दै आत्मनिर्भर उत्पादनमूलक र निर्यात उन्मुख प्रदेश अर्थतन्त्रको निर्माण गर्ने योजना रहेको बताए । उनले सङ्घीय सरकारले थोरै बजेट विनियोजन गर्दा पनि विकास प्रभावित हुने गरेको समेत टिप्पणी गरे ।

अर्को प्रसङ्गमा मुख्यमन्त्री पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्रहार गर्दै कमजोर बनाउने प्रयास गरिरहेको समेत बताए । कांग्रेसलाई कमजोर बनाएर प्राप्त उपलब्धिलाई समाप्त पार्न खोजिएको र सम्भव नहुने बताए ।

पार्टीको विधानले दिएको काम, कर्तव्य र अधिकारलाई सामूहिकरूपमा निर्वाह गर्न सकेमात्र कांग्रेस बलियो हुने र एकल बहुमत ल्याउन सकिने उनको धारणा थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।