आयुषलाई वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८० मा प्रकाशित




पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आयुष घलानलाई यस वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान अर्पण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा मंगलबारदेखि पोखरा रङ्गशालामा सुरु भएको ‘आहा रारा पोखरा गोल्डकप’को २३औँ संस्करणको उद्घाटन समारोहमा उनलाई सो सम्मान अर्पण गरिएको हो ।

उनलाई उद्घाटन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, क्लब अध्यक्ष केशवराज बराल लगायतले सम्मान अर्पण गरेका हुन् ।सम्मानको राशि नगद ५० हजार ५ सय ५५ रूपैयाँ र सम्मानपत्र थियो ।

राष्ट्रिय टिमका नियमित सदस्य घलाल हेटौडा उपमहानगरपालिका–१८ निवासी हुन् । सानो उमरेमा राष्ट्रिय टोलीमा स्थान बनाएका उनले विश्वकप छनोटअन्तर्गत अष्ट्रेलिया विरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्दै राष्ट्रको गौरवलाई उच्च राख्ने फुटबल खेलाडीमध्ये एक जनालाई क्लबले बर्सेनि सम्मान गर्दै आएको सहारा क्लबका अध्यक्ष  बरालले बताए ।

२०७४ बाट सम्मान गर्ने क्रम सुरु गरेको सहाराले भरत खवास, किरणकुमार लिम्बू, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट र अनन्त तामाङलाई यसअघि यो सम्मान अर्पण गरिसकेको क्लबले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।