आहा ! रारा पोखरा गोल्डकको उद्घाटन खेलमा थ्रीस्टारको विजयी शुरुवात


     एभरेस्ट आवाज    
     माघ ९ गते २०८० मा प्रकाशित




माघ ९ पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेल जित्दै थ्रीस्टारले बिजयी शुरुवात गरेको छ । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको मंगलबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै थ्रीस्टारले प्रतियोगितामा सुखद शुरुवात गरेको हो ।

आहा ! रारा पोखरा गोल्डकपमा भएको तेश्रो भिडन्तमापनि सहाराबिरुद्ध थ्रीस्टारले बाजी मारेको छ । यसअघि थ्रीस्टारले सहारालाई २०६३ सालमा ३–१ र २०६९ सालमा १–० ले पराजित गरेको थियो ।

युवा खेलाडीले भरिएको आयोजक सहारा क्लवबिरुद्ध शुरुवातदेखि नै दवाबमा राखेर खेलेको थ्रीस्टारले खेलको पाचौं मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । सहाराका पासाङ लामाले थ्रीस्टारका आदित्य शाक्यलाई फउल गरेपछि सहाराले फ्रिकिक पाएको थियो ।

सो अवसरमा आशिष चापागाईंले हानेको फ्रिकिक बललाई एञ्जल महर्जनको क्रसमा थ्रीस्टारका कप्तान योगेश गुरुङले गरेको प्रहार विपक्षी गोलकिपर टेकेन्द्र थापाले पञ्च गर्दा रिबाउण्ड भएको बललाई गुरुङले पुनः प्रहार गर्दै जाली चुमाएका हुन् ।

पहिलो गोलको अग्रता भने धेरै टिकेन । गोल खाएपछि थप आक्रामक भएको सहाराले खेलको २३ औं मिनेटमा बराबरी गोल फर्कायो । सहाराका आशिष गुरुङले गोल गर्दै सहारालाई खेलमा कमब्याक गराए । उनले मैदानको दाहिने साईडबाट लक्ष्मण रुचालले हानेको फ्रिकिक बललाई हेडर गोल गरेका हुन् । फष्र्टबार च्यापेर हानेको हेडर विपक्षी गोल किपर अभिषेक बराल रोक्न असफल भए ।

तर खेलको ५९ औं मिनेटमा थ्रीस्टारले गोल गर्दै जित सुनिश्चित ग¥यो । यस पटक थ्रीस्टारका एञ्जल महर्जनले करीब ४० यार्ड टाढाबाट हानेको प्रहार सिधै गोलमा परिणत भएको हो ।

पहिलो हाफमा केहि आक्रामक देखिएको थ्रीस्टार दोश्रो गोलपछि भने रक्षात्मक बन्यो । जसका कारण उसले खासै धेरै मुभ बनाउन सकेन ।

सहाराले खेलको ३१, ५१ र दोश्रो हाफको अतिरिक्त समयमा गोल गर्ने अवसर पाएपनि सदूपयोग गर्न नसक्दा हारलाई टार्न सकेन । ३१ औं मिनेटमा लक्ष्मण रुचालले हानेको फ्रिकिकलाई विपक्षी गोलपिर बरालले पञ्च गरेर मुश्किलले बचाए । त्यस्तै ५१ औं मिनेटमा रुचालले नै हानेको कर्नर किकमा पासाङ लामाले सेकेण्डबार च्यापेर हानेको हेडर बार माथिबाट बाहिरियो । निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयको दोश्रो मिनेटमा सन्तोष रुचालले हानेको कर्नर किकपनि खेर गयो । डि–एरिया नजिक आएको बल हुलमुलमा परेपछि सहाराका खेलाडीले गरेको प्रहार फितलो भएपछि विपक्षी गोलकिपर बरालले पञ्च गरेर बचाए ।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन बुधबार नेपाली सेनाको त्रिभूवन आर्मी क्लवबिरुद्ध राईजिङ स्टार फुटबल क्लव प्रतिष्पर्धामा उत्रिनेछ ।

हिमश्री फुड्स प्रालिको उत्पादन आहा ! रारा चाउचाउको मुख्य प्रायोजन रहेको गोल्डकपको उपाधि बिजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उपबिजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच ट्रफी र नगद पुरस्कार सहारा युकेले प्रायोजन गर्ने जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।