आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेलसँग मच्छिन्द्र स्तब्ध


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित




माघ ११ पोखरा । राष्ट्रिय फुटबल टिमका सदस्यहरु बर्चस्व रहेको मच्छिन्द्र क्लव जाउलाखेल युथ क्लवसँग स्तब्ध भएको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा ! रारा पोखरा गोल्डकपको विहीबार भएको खेलमा मच्छिन्द्र जाउलाखेलसँग १–० ले स्तब्ध भएको हो । हारसँगै मच्छिन्द्र प्रतियोगिताबाट पहिलो खेलबाटै बाहिरिएको छ भने बिजयी जाउलाखेल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

जउलाखेलका लागि हिसुब थपलियाले निर्णायक गोल गरे । उनले खेलको ३८ औं मिनेटमा गोल गर्दै जाउलाखेलको जित सुनिश्चित गरेका हुन् । राष्ट्रिय टिमबाट सन्यास घोषणा मच्छिन्द्र क्लवका कप्तान विशाल श्रेष्ठ अगाडि बढेर गरेको गल्तीको फाईदा उठाउँदै जाउलाखेलका थपलियाले खाली पोष्टमा जाली चुमाएका थिए । प्रतिष्पर्धात्मक खेलमा सोहि गल्तीका कारण मच्छिन्द्र पहिलो खेलबाटै घर फर्किन बाध्य भयो । दोश्रो हाफमा मच्छिन्द्रले सुधारिएको खेल प्रदर्शन ग¥यो । अधिकांश समय बल होल्ड गर्दै लगातार आक्रमण बुनेपनि मच्छिन्द्रले स्कोर गर्न असफल भएपछि हार टार्न सकेन । मच्छिन्द्रले खेलको ४८ औं मिनेटमा बराबरी गर्ने मौका गुमायो । पेनाल्टी बक्स नजिकै पाएको फ्रिकिकमा विमल घर्ती मगरको प्रहार क्रसबारमा लागेर फर्किदा मच्छिन्द्रको क्वाटरफाइनल पुग्ने ढोका बन्द भयो ।

चौथो पटक सहभागि जाउलाखेल एक पटकमात्र फाइनलसम्म पुगेको छ । २०६८ मा भएको दशौं आहा ! रारा गोल्डकपको पहिलो सहभागितामै जाउलाखेल फाईनलमा पुगेको थियो । त्यसयता एक पटक सेमीफाइनल र अर्को एक पटक प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको जाउलाखेल त्यसपछि भने सहभागि हुन छाडेको थियो ।

प्रतियोगिता अन्तर्गत प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा भोलि दुई विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लव आम्ने साम्ने हुनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।