राष्ट्रिय सभा सदस्यका लागि गण्डकीबाट सत्तारुढ दलका श्रेष्ठ, शर्मा र परियार बिजयी


     एभरेस्ट आवाज    
     माघ ११ गते २०८० मा प्रकाशित




माघ ११ पोखरा । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनका तीनै जना उम्मेद्वारहरु बिजयी भएका छन् ।

राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुई र नेकपा माओवादी केन्द्रका १ गरेर तीनै जना उम्मेद्वारहरु बिजयी भएका हुन् । गण्डकीबाट राष्ट्रिय सभा सदस्यमा अन्यतर्फ नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (बागलुङ), अपाङ्गता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदमलाल परियार (तनहुँ) र महिलातर्फ नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा (पर्वत) बिजयी भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशमा अन्य, महिला र अल्पसंख्यक तथा अपाङ्गतातर्फ एक/एक सिटका लागि निर्वाचन भएको हो । जसमा खुल्लातर्फ नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (तनहुँ) बिजयी भएका छन् । उनी प्रतिष्पर्धी नेकपा एमालेका चक्रबहादुर पराजुली (स्याङ्जा)लाई १ हजार ३ सय ३१ मतभारले पछि पार्दै बिजयी भएका हुन् । बिजयी श्रेष्ठले ३ हजार ८ सय ८ मतभार प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी पराजुलीले २ हजार ४ सय ७७ मतभार प्राप्त गरे । अन्यतर्फका अर्का उम्मेदवार रोमबहादुर भण्डारी (कास्की)ले १०६ मतभार प्राप्त गरे ।

महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्मा (पर्वत) बिजयी भईन् । उनी नेकपा एमालेकी सम्झना देवकोटा (गोरखा)लाई १ हजार १ सय ७ मतभारले पछि पार्दै बिजयी भईन् । बिजयी शर्माले ३ हजार ६ सय ६० मतभार प्राप्त गर्दा उनकी निकटतम प्रतिष्पर्धी देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गरिन् ।

यसैगरी अपाङ्गता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदमलाल परियार (तनहुँ) बिजयी भएका छन् । उनी नेकपा एमालेका अपाङ्गता तथा अल्पसंख्यकतर्फ हेमेन्द्र शेरचन (मुस्ताङ)लाई १ हजार ३ सय १६ मतभारले पराजित गर्दै बिजयी भएका हुन् । बिजयी परियारले ३ हजार ७ सय ७४ मतभार प्राप्त गर्दा प्रतिष्पर्धी शेरचनले २ हजार ४ सय ५८ मतभार प्राप्त गरे ।

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो । तर विहीबार भएको निर्वाचनमा गण्डकी प्रदेशमा सत्ता गठबन्धनका मत क्रस भएको छ । गण्डकीमा कुल २३० जना मतदाता रहेकोमा २२९ मतदाताले मतदान गरे । सहकारी ठगी मुद्धामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली भने मतदानमा सहभागि भएनन् ।

गण्डकी प्रदेशमा कुल ५ हजार ८ सय ९२ मतभार रहेकोमा सत्तारुढ गठबन्धनको मात्र ३ हजार ८ सय २७ मतभार थियो । तर विहीबार भएको निर्वाचनमा सत्तारुढ उम्मेदवारले कम मतभार प्राप्त गरे ।

अन्यतर्फका कांग्रेस उम्मेदवार किरणबाबु श्रेष्ठले ३ हजार ८ सय ८ मतभार प्राप्त गरे । जुन गठबन्धनको मतभार भन्दा १९ मतभार कम हो । उसो त सत्ता गठबन्धनका अन्य उम्मेद्वारले श्रेष्ठको भन्दापनि कम मतभार प्राप्त गरे ।

महिलातर्फ नेकपा माओवादीकी मनरुपा शर्माले ३ हजार ६ सय ६० मतभार प्राप्त गरिन् । यो गठबन्धनको मतभार भन्दा १६७ मतभार कम हो । त्यस्तै, अपाङ्गता तथा अल्पसंख्यकतर्फ कांग्रेसका पदमलाल परियारले गठबन्धनको मतभार भन्दा ५३ मतभार कम पाए ।

अर्कातर्फ ढोरपाटनका मेयर देवकुमार नेपाली अनुपस्थित भएपछि कुल २ हजार ४ सय ३९ मतभार रहेको एमालेका अन्यतर्फका उम्मेदवार चक्रप्रसाद पराजुलीले ३८, अपाङ्गता तथा अल्पसंख्यकतर्फका उम्मेदवार हेमेन्द्र शेरचनले १९ र महिलातर्फकी उम्मेदवार सम्झना देवकोटाले १ सय १४ मतभार बढी प्राप्त गरे । राप्रपाका दुई सांसदले भने आफ्ना उम्मेदवारलाई नै मतदान गरेको निर्वाचन परिणामले देखाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।