ढोरपाटन । गण्डकी प्रदेश सरकारले प्राणघातक रोगबाट पीडित बिरामी छनोट गरी आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बागलुङको प्रसिद्ध पञ्चकोटमा बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले क्यान्सर र ब्रेनट्युमर भएका ७० जना रोगीको छनोट गरी आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै गण्डकी प्रदेश सरकारकी प्रवक्ता सरस्वती अर्यालले प्रदेश निजामती सेवा पुरस्कार सिफारिस समितिलाई पूर्णता दिन सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र पूर्वसहसचिव विदेन्द्रबहादुर हमाललाई नियुक्ति गर्ने निर्णय गरेको सुनाए।
उनले गोरखाको नासो गाउँपालिकाको वडा सीमाना संशोधनका लागि नेपाल सरकारलाई सिफारिस गरेको भन्दै समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना÷कार्यक्रम समावेश गर्न नेपाल सरकारमार्फत राष्ट्रिय योजना आयोगमा अनुरोध गर्ने गर्ने निर्णय भएको बताए ।
प्रवक्ता अर्यालले प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने तथा गण्डकी प्रदेश आन्तरिक लेखा परीक्षण निर्देशिका २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
प्रदेशमा साझेदार फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति दिने, गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्न स्वीकृत दिने निर्णय गरेको पनि उनले जानकारी दिए ।
सर्वसिद्धी पञ्चकोटधामका संस्थापक अनन्तश्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको आह्वानमा आगामी फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्तश्री ब्राह्माण्डीय महायज्ञ हुँदैछ । यस महायज्ञमा आवश्यक सहयोग र सहभागिताका लागि प्रदेश सरकारले अनुरोध पनि गरेको छ ।
आजको यस स्वास्थ्यमन्त्री सुशीला सिंखडाबाहेक अन्य मन्त्रीहरुको उपस्थिति थियो । पञ्चकोटमा बैठकका लागि आएका मुख्यमन्त्रीसहितका मन्त्रीहरुलाई स्वामी कमलनाचार्यले स्वागत गर्दै गण्डकीको जलले सेचन गरी माटोको टीका लगाईदिएक थिए। त्यहाँ अवस्थित गण्डकी माताको दर्शन गराउँदै उहाँले मुख्यमन्त्री तथा मन्त्रीहरुलाई देश र आफ्नो मातृभूमिको माटोको सेवा गर्न आग्रह गरेका थिए। सङ्घीय राजधानी पोखरा बाहिर गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक यो पहिलो पटक बसेको हो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


टीभीएस मोटर कम्पनीले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारलाई लक्षित गर्दै नयाँ इलेक्ट्रिक स्कुटर…






