‘संसद विघटन गर्नू गलत थियो, तर विघटन गर्नेलाई के कारवाही गरियो ?’


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित




पोखरा, फागुन ३

पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले देशमा कानूनी राज नभएको टिप्पणी गरेका छन् । पोखराको फेवाताल किनार वराहीघाटमा विहीबारदेखि शुरु भएको लिट्रेचर फेष्टिभलमा विद्वत प्रवचन दिदै कानून बनेपनि त्यसको कार्यान्वयन नहुँदा सुशासन कायम नभएको बताएका हुन् । उनले गलत तरिकाले संसद विघटन गर्दापनि त्यो विघटन गर्नेलाई कारवाही नगरिएकोप्रति रोस व्यक्त गरे ।

संघ सरकार पुरानै ढर्रामा चलिरहेको उनले टिप्पणी गरे । केन्द्रले पुरानै ढंगले, पुरानै शैलीले राज गर्ने, कसले मान्ने ? कसले नमान्ने ? खेल खत्तम ! पैसा हजम ! मात्रै भइरहेको छ ।’ उनले यतिसम्म कि संसद विघटन गलत थियो भनेर सर्वोच्च अदालतले भन्दापनि त्यो विघटन गर्नेलाई कारवाही नगर्नू सुशासनको निरीहता प्रष्ट हुने तर्क गरे । सबै कानुनको अधीनमा रहनुपर्थ्यो । तर संघीय संसद नै दुई पल्ट अवैधानिक तरिकाले विघटन गरियो,उनले अगाडि भने,‘विघटन गरिएको संसद फेरि ब्यूँताइयो । बिघटन गरिनु गलत थियो भने बिघटन गर्नेलाई के गरियो त ? गर्नेलाई केही नगरिएपछि अर्को पटक पनि तिनले यस्तै अवस्था ननिम्त्याउलान् भन्ने के आधार ? गरेपछि खुब भए बदर त हुने हो नि भन्ने मनोविज्ञान निर्माण भयो ।’

उनले संसदको जवाफदेहिता सकिएको भनेर प्रश्नसमेत गरे । बिना अधिकार र बिना ढंग संसद विघटन हुँदासमेत सांसदहरु रमिते मात्र बन्नू नालायकीपन देखिएको उनको भनाई थियो । अर्बौं रूपैयाँ पैसा सकाएर, करोडौं जनसङ्ख्या संलग्न भएर अरु सबै काम छाडेर गरिएको चुनाव थियो,उनले भने,‘त्यसरी गठन भएको प्रतिनिधिसभाले चुनावमा नतिजा ल्याउने बेला संसद् विघटन गरियो । त्यो पनि बिनाअधिकार र बिनाढंग । के संसद्को जवाफदेहिता छैन ? सांसदहरूले आफ्नौ संसद्लाई विघटन हुनबाट बचाउन सक्दैनन् ? त्यसका अतिरिक्त संवैधानिक अंगहरू चाहिँ वैध ढंगले नियुक्ति भएका कि अवैधानिक नियुक्ति भएका हुन्, थाहा छैन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।