पोखरामा वेस्टर्न ओपन गल्फ शुरु, भुवनले बनाए अग्रता


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०८० मा प्रकाशित




पोखरा, फागुन ९ । पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता शुरु भएको छ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौंथो प्रतियोगिताका रुपमा पार–६९ को हिमालयन गल्फ क्लव पोखरामा सूर्य नेपाल वेस्टर्न ओपन गल्फ प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको पहिलो दिन भुवन नगरकोटीले अग्रता बनाउन सफल भएका छन् । उनले प्रतिष्पर्धी खेलाडी सद्भाव आचार्यलाई एक स्ट्रोकले पछाडि पार्दै अग्रता बनाउन सफल भएका हुन् । पहिलो दिन पूर्व नम्बर एक प्रो भुवन ३–अण्डर ६६ को स्कोर बनाउँदै शीर्ष स्थान बनाउन सफल भए । २–अण्डर ६७ बनाउँदै दोश्रो बनेका एमेच्योर खेलाडी सद्भाव आचार्यले भुवनलाई पछ्याईरहँदा रवि खड्का र निरज तामाङ इभन–पार ६९ को स्कोर बनाउँदै तेश्रो स्थानमा छन् ।

प्रतियोगितामा दीपक आचार्य १–ओभर ७० सहित चौथो, धनबहादुर थापा र टंकबहादुर कार्की २–ओभर ७१ सहित संयुक्त रूपमा छैटौं, बलभद्र राई, भुवनकुमार‌ रोक्का, दीपक मगर, दीनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३–ओभर ७२ को‌ स्कोरमा संयुक्त रूपमा आठौं स्थानमा छन् ।

शीर्ष स्थान बनाउन सफल भुवनले पहिलो दिन दोश्रो होलमा बर्डी प्रहार‌ गर्दै फ्रन्ट नाईनमा‌ १–अण्डर ३३ मा पुरा गरे । त्यसपछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाईन २–अण्डर ३५मा सकाए । भुवनले ११औं, १५औं र १८औं होलमा एक–एक सट बचाउँदा १२औं होलमा बोगीको सामना गरेका हुन् ।

तीन दिन सम्म चल्ने प्रतियोगिता ५४ होलको हुनेछ । काठमाडौं बाहिर हुने दुई प्रतियोगिता मध्ये को एक यस प्रतियोगितामा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीले सहभागिता जनाएका छन् ।

यस प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुने आयोजकले जनाएको छ । जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन् । एमेच्योर खेलाडीको हकमा पनि प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम दिन प्रतिस्पर्धा गर्न पाउने प्रोफेसनल गल्फ संघका महासचिव दीपक आचार्यले जानकारी दिए । प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुने महासचिव आचार्यले बताए ।

प्रतियोगिताको बिजेताले १ लाख ४० हजार, द्वितीय हुनेले ९६ हजार, तृतीय हुनेले ७२ हजार, चौथो हुनेले ५९ हजार र पाचौं हुनेले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उत्कृष्ट २१ मा पर्न सफल अन्य गल्फरलाईपनि नगदसहित मेडल प्रदान गरिने महासचिव आचार्यले जानकारी दिए ।

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।