आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०८० मा प्रकाशित




सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ ।

अभियानअन्तर्गत काठमाडौँ जिल्लाका पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइने बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलन गरेर वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिए । उनले ती वालबालिकालाई एक हजार छ सय ७० खोप केन्द्रबाट खोप लगाइने बताए ।

पहिले विद्यालयलाई नै खोप केन्द्र बनाउने र खोपको अन्तिम दिन वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाइने उनले बताए । बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका खोप अभियान सहभागी हुनेछन् ।

खोप अभियानमा तीन सय ३२ स्वास्थ्यकर्मी र तीन हजार एकजना स्वयंसेवक परिचालन गरिने छ । भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाइने छ ।

काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । यो नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।