पोखरा, फागुन २१
गण्डकी प्रदेशमा आम सञ्चार विधेयक बल्ल पारित भएको छ । गण्डकी प्रदेश सभामा प्रस्तुत भएको ‘गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक’ सोमबार बल्ल पारित भएको हो । यसअघि यो विधेयक पटक÷पटक दर्ता भएरपनि पारित हुन सकेको थिएन ।
तीन वर्षअघि संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पालामा पहिलो पटक प्रदेश सभामा यो विधेयक दर्ता भएको थियो । तर पत्रकारलाई कारवाही गर्ने अधिकार कर्मचारीलाई दिइएको तथा स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउन खोजिएको भन्दै विरोध भएपछि त्यसबेला स्थगित गरिएको थियो ।
पछि कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका बेला सो विधेयकलाई अगाडि बढाइएको थियो । तर पत्रकार सम्बद्ध संघसंस्थाले विधेयक पुर्नलेखन गर्न माग गर्दै विरोध जनाएपछि विधेयक विधायन समितिमा विचाराधिन राखिएको थियो । विधायन समितिमा छलफलपछि परिमार्जन गरेर प्रदेश सभामा पेश गर्ने भनिएपनि पछि त्यत्तिकै थाती राखिएको थियो ।
तर सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि सो विधेयक प्रदेश सभामा दर्ता गरिएको थियो । यस बिचमा पटक÷पटक विधेयक अगाडि बढाउने भनिएपनि अन्तिम समयमा रोकिदै आएको विधेयक सोमबार भने गण्डकी प्रदेशमा प्रस्तुत भयो । आन्तरिक मामिला मन्त्रालयसमेत सम्हालेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विधेयक सोमबार निर्णायार्थ प्रस्तुत गरेका थिए । उनले राखेको प्रस्तावको विपक्षमा कसैलेपनि मत जाहेर नगरेपछि विधेयक सर्वसम्मत पारित भएको सभामुख कृष्णचन्द्र धितालले घोषणा गरे ।
गण्डकी प्रदेश सभामा गत भदौ २१ गते दोश्रो पटक आम सञ्चार विधेयक टेबल भएको थियो । गत असोज ११ गते दफावार छलफलका लागि प्रदेश मामिला तथा कानून समितिमा पठाइएको थियो । सो समितिमा छलफल भई पारित भएपछि फागुन १६ गते प्रदेश सभामा फिर्ता भएको गण्डकी प्रदेश सचिवालयले जनाएको छ ।
आम सञ्चार विधेयक पारित हुनुअघि सोमबार विधेयकमाथि दफावार छलफल भएको थियो । छलफलमा भाग लिदै प्रदेश सभा मामिला तथा कानूनमन्त्री विन्दुकुमार थापाले आम सञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाई बिचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हक थप प्रभावकारी बनाउन विधेयक कामयावी बन्ने विश्वास व्यक्त गरे । तर निर्देशिका बनाई चलचित्रलाईसमेत यहि विधेयकले सम्बोधन गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।
प्रदेश सभा सदस्य पद्मा जिसीले सरकार फेरबदल हुँदापनि प्रेस रजिस्टार रहिरहने प्रावधानले यसको गरिमा उचो बनाएको बताईन् ।
अर्का प्रदेश सभा सदस्य फडिन्द्र देवकोटाले आम सञ्चार पत्रकारको हक, हित र अधिकारका विषयमात्र नभई आम नागरिकको हक, अधिकारको विषय भएकाले यसलाई व्यवस्थित गर्नका लागि विधेयक आउनु सकारात्मक भएको बताए । उनले विकिृतितर्फ उन्मुख सञ्चारमाध्यम र पत्रकारितालाई ट्रयाकमा ल्याउन विधेयक कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
छलफलमा उठेका विषयमा जवाफ दिदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विधेयकले आम सञ्चार माध्यमसँगै पत्रकारितालाई सहजीकरण र सरलीकरण गर्ने बताए । साथै उनले आम सञ्चार माध्यममा नियन्त्रण नभई नियमन जरुरी रहेको बताए । अब नियमावली बनाएर आम सञ्चार माध्यमलाई नियमन गरिन्छ,उनले भने,‘गण्डकी प्रदेशमा सञ्चालित हुने आम सञ्चार माध्यम स्वतन्त्र, मर्यादित र जिम्मेवार बन्छन् र त्यसका लागि विधेयक कोशेढुंगा सावित हुनेछ भन्ने मेरो विश्वास हो ।’
विधेयक पारित भएसँगै अब आम सञ्चारमाध्यम यहिं दर्ता र नवीकरण हुनेछन् । आमसञ्चार माध्यमको व्यवस्थापन सम्बन्धी कार्य गर्न मन्त्रालयले प्रेस रजिस्ट्रारको कार्यालय स्थापना गर्नुका साथै सो कार्यालय हेर्न प्रेस रजिस्टार नियुक्त गर्ने प्रावधान छ । प्रेस रजिस्टार हुन ३५ वर्षको उमेर पार गर्नुका साथै स्नातकोत्तर उत्तिर्ण, नेपाल सरकार वा प्रदेश सरकारबाट जारी भएको प्रेस प्रतिनिधि प्रमाण पत्र प्राप्त गरी कम्तिमा १५ वर्ष पत्रकारिता गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, मंसिर ६ । पोखराको मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्समा सम्पन्न ‘दोस्रो माछापुच्छ्रे…







