अन्तराष्ट्रिय श्रमिक महिला दिवस : पोखरा लेडि जेसिज र एभरेस्ट एफ.एमद्वारा अन्तरक्रिया


     एभरेस्ट आवाज    
     फागुन २५ गते २०८० मा प्रकाशित




फागुन २५ पोखरा । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा लेडि जेसिज र एभरेस्ट एफ.एम ९३ मेगाहर्जको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । ‘महिलामा लगानी : सभ्य र समुन्‍नत समाजको थालनी’ भन्‍ने नारासहित विश्वभर मनाइँदै गरेको दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ ले महिला हिंसाबारे प्रष्ट पार्दै कानूनमा महिला अधिकारको स्पष्ट व्यवस्था उल्लेख गरिएको भएपनि कार्यान्वयनमा ठूलो चुनौती रहेको बताइन् । उनले महिलाहरु आर्थिकरुपमा सशक्त हुन सकेमात्रै पनि यस्ता घटनाबाट बाहिर आउन सक्ने बताइन् । परियारले पछिल्लो पटक उजुरी गर्ने क्रम बढेकोले हिंसाका घटनामा बृद्दि भएको जस्तो देखिएको हुन सक्ने जिकिर गरिन् ।

जोन्टा क्लब अफ पोखराका उपाध्यक्ष रोजीना रन्जीत विजुक्छेले सामाजले महिलाप्रति सकारात्मक सोच राखेमा उनीहरुको शसक्तिकरणमा सहज हुने बताइन् ।

पोखरा लेडि जेसिज वर्ष २००५ का अध्यक्ष तथा पर्यटन व्यवसायी संगीता पौडेलले आफ्नो संस्थाले महिला उत्थानमा थुप्रै कार्यक्रमहरु गरिरहेको बताइन् । उनले यस्ता कार्यक्रमहरु सहर केन्द्रित मात्र नभई ग्रामिण क्षेत्रका महिलाहरुलाई समेटेर यसको महत्वलाई बढाउन आवश्यक रहेको बताइन् ।

रोटरी क्लव अफ पोखरा फिस्टेलका पूर्व अध्यक्ष लक्ष्मी थापा गिरीले महिला नेतृत्व हरेक क्षेत्रमा अझैपनि न्यूनरुपमा रहेको भन्दै यसलाई बढाउन आवश्यक रहेकोमा जोड दिइन् ।

पोखरा लेडि जेसीज वर्ष २०१० का अध्यक्ष गिता सिग्देलले महिलाको हक हितका लागि घरपरिवारको साथ निकै महत्वपूर्ण हुने बताइन् । उनले महिला अधिकार घरबाटनै सुनिश्चित हुनपर्नेमा उनको जोड थियो ।

पोखरा लेडि जेसिजका अध्यक्ष गायत्री फुयालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एभरेस्टकर्मी रेजिना कटुवालले गरेकी थिइन् ।

पोखराका विभिन्न संघसंस्थामा आवद्ध महिलाहरुको सहभागिता रहेको कार्यक्रमको एभरेस्ट एफएमबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यक्रममा आजै मात्र अनलाइनखबर डट कमको ५० प्रभाबशाली महिलाको सूचीमा पर्न सफल पोखरेली अधिबक्ता कुन्जनी प्यासी अधिकारीलाई सम्मान समेत गरिएको थियो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनकी नागरिक क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।