वित्तीय सुशासन मूल्याङ्कनमा कास्कीका पालिकाहरुमध्ये रुपा पहिलो, पोखरा महानगर पुछारमा


     एभरेस्ट आवाज    
     फागुन ३० गते २०८० मा प्रकाशित




पोखरा, फागुन ३०

वित्तीय सुशासनमा रुपा गाउँपालिका कास्कीका पालिकाहरुमध्ये अब्बल ठहरिएको छ । जिल्ला समन्वय समिति कास्कीले जिल्लास्थित स्थानिय तहहरूको आर्थिक बर्ष २०७९÷८० को वित्तीय सुशासन जोखिम मुल्यांकन (फ्रा)को नतिजामा रुपा गाउँपालिका ६७ अंक प्राप्त गर्दै कास्कीमा अब्बल ठहरिएको हो ।

सो नतिजा अनुसार पोखरा महानगरपालिका भने सबभन्दा कमजोर देखिएको छ । पोखरा महानगरले ६० अंक प्राप्त गर्दै वित्तीय सुशासन मूल्यांकनमा कास्कीका पाँच स्थानिय तहमध्ये सबैभन्दा पुछारमा परेको हो ।

जिसस कास्कीले बुधबार सार्वजनिक गरेको वित्तीय सुशासन जोखिम मुल्यांकनमा माछापुच्छ«े गाउँपालिका दोश्रो, अन्नपूर्ण गाउँपालिका तेश्रो र मादी गाउँपालिका चौथो स्थानमा छन् । मूल्याङ्कनमा माछापुच्छ«े गाउँपालिकाले ६४.५, अन्नपूर्ण गाउँपालिकाले ६२ र मादी गाउँपालिकाले ६०.५ अंक प्राप्त गरेको जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले जानकारी दिए ।

प्रमुख पौडेलले कास्कीका स्थानिय तहहरु वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मध्यम जोखिम देखिएको बताए । ‘सबै स्थानिय तहहरुले ६० भन्दा बढी अंक प्राप्त गरेका छन् । यसरी हेर्दा मध्यम जोखिम देखिन्छ । त्यसैले अब सबै स्थानिय तहहरुले वित्तीय सुशासनमा अब्बल बन्ने लक्ष्य लिनुपर्छ’–उनले भने ।

प्रमुख पौडेलले सुशासन र समृद्धिको जग वित्तीय सुशासन भएकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने बताए । सुशासन सबैको साझा दायित्व भएको उल्लेख गर्दै उनले भने,‘अब सबै स्थानिय तहहरुले बैरुजुरहित हुनेतर्फ ध्यान केन्द्रीत गर्नुपर्छ ।’

जिसस कास्कीले वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधी–२०७७ लाई आधार बनाइ योजना, बजेट तथा कार्यक्रम ब्यबस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन, अनुगमन मुल्याङ्कन तथा लेखा परीक्षण र राजश्व ब्यबस्थापनका बिषय क्षेत्र तोकेर कुल ११८ वटा सुचकमा आधारित भएर १०० पूर्णाङ्कमा मुल्यांकन गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिए । काम गराई र बुझाइमा एकरूपता नहुनु, नतिजाको प्रभावकारी कार्यान्वयन र समीक्षाको अभाव, अभिलेख ब्यबस्थापन प्रभाबकारी नहुनुलगायतका कठिनाईहरु देखिदा नतिजा सोंचेअनुरुप नआउको उनले प्रष्ट्याए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।