चैत १ पोखरा । केन्द्रमा गठबन्धन फेरिएसँगै गण्डकीमा मुख्यमन्त्री को बन्ने भन्ने बहस शुरु भएको छ । केन्द्रमा गठबन्धन फेरिएर प्रधानमन्त्री प्रचण्डले तेश्रो पटक विश्वासको मत पाएपनि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्छ भन्ने अन्यौल छ । गण्डकीमा नया गठबन्धनलाई बहुमत पु¥याउन सकस देखिन्छ ।
६० सदस्य रहेको गण्डकीमा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीको सभामुखसहित ८, राप्रपाका २ र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादीका १ जना छन् । नया सरकार गठनका लागि ३१ मत चाहिन्छ । नया गठबन्धनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ३१ मत पुग्छ । तर माओवादीबाट सभामुख भएका कृष्णचन्द्र धिताल सरकार बनाउने प्रक्रियामा सहभागि हुन नपाउने तथा माओवादीमा गणना भएका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का फडिन्द्र देवकोटाले माओवादीबाट छुट्टिन माग गरिरहेकाले बहुमत जुटाउन फलामको चिउरा चपाउनु सरह भएको छ ।
उसो त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाईपनि नया गठबन्धनले सरकार बनाउनका लागि सहयोग मागिरहेको छ । तर राप्रपाले वचन दिइसकेको छैन । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली नया सरकार गठनका लागि राप्रपासँग कुरा भइरहेको बताउँछन् । ‘राप्रपासँगको छलफल सकारात्मक छ, तर निर्णय दिइसकेको छैन’–उनले भने ।
नया गठबन्धनले सरकार निर्माणको कसरत गरिरहेका बेला वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने आफै बहुमत पु¥याएर विश्वासको मत लिने प्रयासमा छन् । उनी राप्रपाका २, माओवादी चुनाव चिह्नबाट जितेपनि नेसपाका फडिन्द्र देवकोटा र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका दीपक मनाङेलाई फकाएर बहुमत पु¥याउन सकिनेमा मुख्यमन्त्री पाण्डे विश्वस्त छन् । उनले कांग्रेस सभापती शेरबहादुर देउवालाई गण्डकीमा विश्वासको मत लिन सकिने ब्रिफिङ गरेका छन् । ब्रिफिङमा उनले भनेका कुरा उद्धृत गर्दै श्रोतले भन्यो, ‘गण्डकीमा विश्वासको मत पाउन सकिन्छ । तर राप्रपालगायतको विश्वास जित्नुपर्छ ।’
अंक गणितलाई हेर्दा नया गठबन्धनले तत्काल बहुमत पु¥याईहाल्ने देखिदैन । तर मुख्यमन्त्रीको लागि भने नया गठबन्धनका दलहरुबीच हानथाप शुरु भएको छ । गण्डकीको नया मुख्यमन्त्रीका लागि नेकपा एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रका हरिबहादुर चुमान दुबैले दाबेदारी प्रस्तुत गरेका छन् । गण्डकीमा चार पटक अरुलाई मुख्यमन्त्री बनाइसकेको माओवादी यसपटक जसरीपनि मुख्यमन्त्री लिने तयारीमा छ । यसअघि माओवादीको सहयोगमा एमालेका पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारी एक÷एक पटक, कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल र वर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक÷एक पटक मुख्यमन्त्री बनिसकेका छन् । त्यसैले माओवादी यसपटक मुख्यमन्त्री छाड्ने पक्षमा छैन । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमान भन्छन्,‘हामीले अरुलाई चार पटक मुख्यमन्त्री बनाइसकेका छौं । यसअघि मुख्यमन्त्री बनाउँदा आलोपालो भनेर सहमति भएकाले यस पटक हामीले पाउनु न्यायसंगत हुन्छ र पाउँछौंपनि ।’
तर केन्द्रमा गण्डकीको मुख्यमन्त्री आगामी ४ वर्षकै लागि एमालेलाई दिने सहमति भइसकेको हल्ला फैलाएको छ । एमालेले सात प्रदेश मध्ये एउटा मात्रै पायो भनेपनि गण्डकी लिन्छ, एमाले गण्डकीका नेताहरु भन्छन्,‘त्यसैले गण्डकीमा माओवादीले मुख्यमन्त्री पाउने सम्भावना छैन ।’ एमालेले चारै वर्ष मुख्यमन्त्री पायो भनेर गरिएको हल्ला निराधार भएको माओवादीका चुमान बताउँछन् । ‘यो फगत हल्ला मात्र हो, वाहियात हल्ला चलाइएको छ । नेतृत्वले त्यसबारे टुंगाईसकेको छैन । बरु तपाईंले नै पाउनुहुन्छ भनेर मलाई भनिरहनुभएको छ’–उनले भने ।
नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली सातै प्रदेशको एकैपटक टुंगिने बताउँछन् । केन्द्रले सहमतिमै टुंग्याउँछ,उनले भने,‘गण्डकीमा माओवादीको दाबी त रहला, तर एमालेले नै मुख्यमन्त्री पाउँछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







