उपचाररत कलाकारद्वय आचार्य र गुरुङलाई पोखरा सांगीतिक कलाकार संघको सहयोग


     एभरेस्ट आवाज    
     चैत्र ३ गते २०८० मा प्रकाशित




चैत ३पोखरा । पोखरा सांगीतिक कलाकार संघले अस्वस्थ भई उपचाररत कलाकार द्वय विष्णु आचार्य र महेश गुरुङलाई आर्थिक सहयोग गरेको छ । संघले मिर्गौला रोगबाट पीडित कलाकार गुरुङ र अस्वस्थ भई उपचाररत आचार्यलाई आर्थिक सहयोग गरेको हो ।

मिर्गौला रोगबाट पीडित गुरुङ ब्रोसिस् व्याण्डका ड्रमर हुन भने आचार्य ध्रुपद गायक हुन् ।

अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचाररत आचार्यलाई नगद ११ हजार १ सय ११ रुपैयाँ र गुरुङलाई २५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरेका हौं,उनले भने,‘गरे के हुन्न र ? शुरुवात आफैबाट गरौं भन्ने उद्देश्य राखेर सहयोग गरेका हौं ।’

समस्यामा परेका कलाकारलाई सहयोग गर्ने उद्देश्यले पोखरा सांगीतिक कलाकार संघले अक्षयकोष नै खडा गरेको छ । संघले अक्षयकोष स्थापनार्थ रङ्गहरुको पर्व होलीको अवसरमा हरेक वर्ष होली म्यूजिक फेष्टिभल आयोजना गर्दै आएको छ । संघले यस वर्ष यहि चैत ११ गते आईतबार पोखरा लेकसाईडस्थित क्याम्पिङचौरमा दोश्रो होली म्यूजिक फेष्टिभल आयोजना गर्दैछ । प्रवेश निःशुल्क रहेको सो कार्यक्रम प्रायोजक र शुभेच्छुकको सहयोगमा गर्न लागिएको अध्यक्ष संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।