पोखरा, चैत ५
राजिव गुरुङ उर्फ दीपक मनाङे चौथोपटक मन्त्री भएका छन् । गुण्डा नाईकेको छवी बनाएका मनाङे सोमबार चौथो पटक मन्त्री भएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रीमा नियुक्त गरेका हुन् । विहान नियुक्त भएका मन्त्री मनाङेले सोमबार दिउँसो सपथ लिए । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । मनाङ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मतहुँदै निर्वाचित भई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङे यसअघि पृथ्वी सुब्बा गुरुङको पालामा दुई पटक र कृष्णचन्द्र नेपाली पोखरेलको पालामा एक पटक गरेर तीन पटक मन्त्री बनेका थिए ।
गण्डकीमा मनाङे चौथोपटक मन्त्री बन्दा मुख्यमन्त्री पाण्डेको ईमानले घुँडा टेकेको छ । यसअघि गुण्डा नाईकेलाई मन्त्री नबनाउने अड्डी कसेका मुख्यमन्त्री पाण्डे अल्पमतमा परेपछि भने ईमानलाई घुँडा टेकाउँदै मन्त्री बनाउन बाध्य भएका हुन् । अल्पमतमा नपरेसम्म भने उनी मनाङेलाई मन्त्री नबनाउने अडानमा थिए । यतिसम्म कि आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मनाङेलाई मन्त्री बनाउन दवाबसमेत उनी डगमगाएका थिएनन् । उनी भन्ने गर्थे,‘डनलाई मन्त्री बनाउँदिन, मनाङेलाई मन्त्री बनाउनुपर्छ भने बरु मआफै पद छाड्छु ।’ तर नेकपा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएपछि अल्पमतमा परेसँगै मुख्यमन्त्री पाण्डे गले । जसरीपनि सरकार टिकाउने ध्याउन्नमा लागेका उनी मनाङेलाई मन्त्री बनाएर कुर्सी जोगाउनतिर लागे ।
मनाङे मन्त्री बनेसँगै गण्डकीको राजनीतिक वृत्तमा ट्वीष्ट आएको छ । केन्द्रमा गठबन्धन बदलिएसँगै गण्डकीमापनि त्यसको प्रभाव पर्ने र सरकार फेरबदल हुने अनुमान गरिएको थियो । किनकी यहाँ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र राप्रपा मिल्दा सरकार बनाउन बहुमत पुग्थ्यो । यसो हुँदा गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउने र नया सरकार बन्ने अनुमान थियो । तर मनाङेले आईतबार एक्कासी दल त्यागेको जानकारी प्रदेश सभामा जानकारी गराउनू र सोमबार मन्त्रीमा नियुक्त भएसँगै राजनीतिक वृत्तमा नया ट्वीष्ट आएको हो ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । जसमा नेपाली कांग्रेसका २७ सांसद छन् । त्यसमा राप्रपाका २ र दीपक मनाङेको समर्थन हुँदा ३० पुग्छ । पाण्डेलाई नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लडेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का फडिन्द्र देवकोटालेपनि समर्थन गर्ने बताइएको छ । यसो भएमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाउनसक्ने सम्भावना देखिन्छ । यद्वपी राप्रपा र फडिन्द्र देवकोटाले अहिलेसम्म यसबारे मुख खोलिसकेका छैनन् । तर उनीहरु सकारात्मक रहेको मुख्यमन्त्री पाण्डे निकट श्रोतले बताएको छ ।
मध्यावधीमा जानबाट रोक्न मुख्यमन्त्रीलाई साथ दिएको हुँ ः मनाङे
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकीमा मध्यावधीमा जानबाट रोक्नका लागि आफूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिएको बताएका छन् । सोमबार सपथपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने,‘म मध्यावधीको पक्षमा छैन । त्यसैले मुख्यमन्त्रीलाई मैले एकपटक मौका दिएको हुँ ।’ उनले सत्ता टिकाउने जिम्मा मुख्यमन्त्रीको भएको बताए । आफूलाईजस्तै अरुलाईपनि ल्याएर मुख्यमन्त्रीले सत्ता टिकाउनुपर्ने उनको आसय थियो । अब मध्यावधीमा जाने÷नजाने कुरा राप्रपाको निर्णयमा भर पर्ने भन्दै उनले भने,‘राप्रपालाई मध्यावधी चाहिन्छ भने त मेरो भन्नु केहि छैन । म फेस गरिदिन्छु ।’
मनाङेले आफूलाई नेकपा एकीकृत समाजवादीले कारवाही गर्न नसक्ने दाबी गरे । स्वतन्त्रबाट जितेर प्रवेश गरेकाले आफूलाई सो पार्टीले कारवाही गर्न नसक्ने भन्दै उनले भने,‘मलाई नेकपा एसको ह्वीप लागेपनि फरक पर्दैन । म फेरीपनि चुनाव जितिहाल्छु । के टेन्सन् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






