चैत ५ काठमाण्डौं । स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पतालमा राखेर अनुसन्धान गर्ने भएको छ ।
चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै बिरामीका कारण उल्लेख गर्दै अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको व्यवस्थापन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेता महरालाई नर्भिक अस्पताल राखिने छ ।
महराले आफूले आठ प्रकारका औषधि खाइरहेकाले अस्पतालमा बस्न दिन माग गर्नुभएको र सोही आधारमा अस्पतालमा राखेर अनुसन्धान गर्न भनेको हो । आजै सुन प्रकरणको अनुसन्धानका लागि नेता महरामाथि अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले चार दिनको म्याद पाएको थियो । अब महरा चारै दिन अस्पताल बस्न पाउने भएका छन् । उनलाई आजै कपिलवस्तुबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
गत साउन २ मा ‘ब्रेक सु’ मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ साल पुसमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष महराको नाम जोडिएपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले पनि उनीमाथि अनुसन्धान गर्ने सिफारिस गरेको थियो । यसअघि नै सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा। नेपाली कांग्रेस नेतृ हस्तमाया नेपालीको निधन भएको छ। केही वर्षदेखि क्यान्सर…







