एमाले कास्कीको अध्यक्षमा खगराज गुटबाट बैनबहादुर, पृथ्वी सुब्बा गुटबाट ३ आकांक्षी


     एभरेस्ट आवाज    
     चैत्र ९ गते २०८० मा प्रकाशित




पोखरा, चैत ९

नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन भोलिदेखि शुरु हुने भएको छ । एमाले कास्कीको नया नेतृत्व चयन गर्नका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

पोखराको नयाबजारस्थित प्रर्दशनी केन्द्रमा आईतबारसम्म जारी रहने अधिवेशनको नेकपा एमालेका अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

एमाले कास्कीको नया नेतृत्वको लागि रस्साकस्सी छ । एमाले कास्कीको आगामी कार्यकालका लागि अध्यक्ष हत्याउन पार्टीका उपमहासचिव तथा प्रचारप्रसार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी गुटबीच रस्साकस्सी छ । लामो समयदेखि गुटगत लडाईंमा रहेका उनीहरुबीच आफू निकटलाई अध्यक्ष बनाउन होडबाजी चलिरहेको हो ।

पृथ्वी सुब्बा गुरुङ गुटबाट अध्यक्षका आकांक्षी ३ जना रहेका छन् । सो गुटबाट अध्यक्षमा वर्तमान उपाध्यक्ष तेजनारायण अधिकारी, पोखरा महानगर कमिटीका पूर्व अध्यक्ष दीपक पौडेल र जिल्ला कमिटीका सचिवालय सदस्य माधव बास्तोला आकांक्षी छन् । जसमध्ये सर्वसम्मत भए अधिकारी र पौडेलमध्ये एक हुने सहमति भएको श्रोत बताउँछ । गुटगत प्यानल खडा गरेर चुनावमा जानुपर्ने भए बास्तोलालाई सर्वसम्मत उम्मेदवार बनाएर जाने गुरुङ गुटमा सहमति भएको श्रोतको दाबी छ । अधिकारी र बास्तोलाले भने चुनाव होस् वा सर्वसम्मत दुबै अवस्थामा एउटै व्यक्ति अगाडि सारिने दाबी गरे । तर त्यसरी अगाडि सार्ने व्यक्ति आफू नै भएको दुबैजनाको दाबी छ । चुनाव भएपनि वा सर्वसम्मत भएपनि पृथ्वी सुब्बा समूहबाट म नै हो उम्मेदवार,उनले भने,‘म उपाध्यक्ष भइसकेको र सर्वस्वीकार्यपनि भएकाले मेरै नेतृत्वमा जाने कुरा छ ।’ सो समूहका अर्का आकांक्षी बास्तोलालेपनि दुबै अवस्थामा आफू उम्मेदवार हुने दाबी गरे । हाम्रो समूहमा मेरो विकल्प खोजिदैन होला,उनले भने,‘सर्वसम्मत वा निर्वाचन दुबैका लागि मलाई अगाडि सार्ने कुरा भइरहेको छ । सायद भोलि विहानसम्ममा निश्कर्षमा पुग्छौं ।’

खगराज गुटले भने सर्वसम्मत भएपनि वा गुटगत प्यानल बनाएर चुनाव लड्नुपर्ने भएपनि बैनबहादुर अधिकारीलाई अघि सार्ने निर्णय गरिसकेको छ । अधिकारी वर्तमान सचिव हुन् । खगराजका प्रिय पात्रका रुपमा परिचित उनलाई अन्य आकांक्षीले स्वीकारिसकेको अधिकारी निकट श्रोतले बताएको छ । अधिकारीले आफू चुनाव हुने स्थितिमा उम्मेदवार हुने बताए । सर्वसम्मत हुने स्थितिमा म बाधक बन्दिन,उनले भने,‘तर सर्वसम्मत हुने स्थिति नभएमा म उम्मेदवार हुन्छु ।’ आफूले सबैलाई समेटेर लैजानसक्ने खुबी भएको उनको दाबी छ । चुनाव हुने स्थितिमा गुटगत लडाईं हुनसक्ने उनले संकेत गरे । सकभर सर्वसम्मत नेतृत्व चयन होस् भन्ने मेरो चाहना हो,उनले भने,‘हैन चुनाव नै हुने हो भने मन मिल्ने साथीहरुको प्यानल बनाएर चुनावमा जाने तयारी छ ।’

अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तीन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९३५ जना प्रतिनिधिहरु सहभागि हुने एमाले कास्कीका अध्यक्ष एवम् अधिवेशन मुल समारोह संयोजक मनबहादुर गुुरुङले जानकारी दिए । अधिवेशनले १४१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । जसमध्ये १० प्रतिशत पदाधिकारी हुनेछन् भने १० प्रतिशत मनोनयन र अर्को १० प्रतिशत अन्य पार्टीबाट आएकाका लागि छुट्याईने अध्यक्ष गुरुङले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।