एमाले महासचिव पोखरेलले पृथ्वी सुब्बा र खगराजलाई भने : तपाईंहरु खेलाडी होईन, रेफ्री बनिदिनूस्


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०८० मा प्रकाशित




पोखरा, चैत १०

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेताहरुलाई खेलाडी होईन रेफ्री बनिदिन आग्रह गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको बन्द शत्रलाई शनिबार सम्बोधन गर्दै उनले नेतृत्व छान्ने जिम्मा कार्यकर्तालाई दिन आग्रह गरेका हुन् ।

गण्डकी प्रदेशमा पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारीबीच गुटगत समूह छ । कास्की अधिवेशनमापनि दुई गुटबीच प्यानल बनाएरै प्रतिष्पर्धाको तयारी छ । केन्द्रमा गुरुङ पार्टी उपाध्यक्ष विष्णु पौडेल निकट र अधिकारी महासचिव पोखरेल निकट मानिन्छन् । कास्कीमा पछिल्लो समय पृथ्वी सुब्बा गुरुङ समूह बलियो बनेको विश्लेषण गरिदै आएको छ ।

कास्कीको अधिवेशनलाई नजिकबाट नियालीरहेका महासचिव पोखरेलले नया नेतृत्वका लागि भइरहेको हानथापबारे अधिवेशनको बन्दशत्रमै मुख खोलेका हुन् । उनले नेता नेताबीच फाटो ल्याएर जिल्ला नेता बन्ने प्रयास नगर्न कार्यकर्तालाईसमेत आग्रह गरे । गुरुङ र अधिकारीको नाम नलिई तर उनीहरुप्रति लक्षित गर्दै महासचिव पोखरेलले भने,‘नेता छान्ने मञ्चमा बसेकाले होईन, नेता छान्ने तल बसेका कार्यकर्ताले हो । त्यसैले यसपटक उहाँहरुलाई नै नेता छान्न दिनूस् ।’

महासचिव सकभर सहमतिबाटै नेतृत्व छान्नुपर्ने र त्यो सम्भवपनि भएको बताए । सहमतिबाट नेतृत्व छान्नु सबैभन्दा लोकतान्त्रिक हुने बताउँदै उनले भने,‘यदि भएन र प्रतिष्पर्धा भयो भने तपाईंहरु खेलाडी नबनी रेफ्री बनिदिनूस् । उहाँहरुलाई नेता छान्न दिनूस् । कार्यकर्ताबाट छानिएर आएको नेताले मात्र पार्टी बनाउने उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।