पोखरा, चैत १०
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलहरुले नगरेका कारण देश बनेन भन्ने भाष्य तयार गर्न खोजिएको भन्दै असन्तुष्टी जाहेर गरेका छन् । नेकपा एमाले कास्कीको एघारौं अधिवेशनको उद्घाटन शत्रलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले पुराना दलहरुले गरेनन् भन्दै नया दलहरु स्थापित हुन खोजिरहेको बताएका हुन् । यसले नेपाल प्रयोगशाला बन्ने खतरा रहेको औंल्याउँदै उनले भने,‘विकास र समृद्धिका लागि बलिया राष्ट्रिय शक्ति आवश्यक छ । जतिबेला बलियो राष्ट्रिय शक्तिको आवश्यक छ तर त्यतिबेला जनमत विभाजित भइरहेको छ । नया नया शक्तिका नाममा, स्वतन्त्रका नाममा । अनेक नाममा जनमत विभाजित गर्ने । पार्टीलाई विभाजित गर्न खोज्ने प्रवृत्ति छ ।’ उनले अमेरिकालगायत विश्वका शक्तिशाली राष्ट्रहरुमापनि पुरानै शक्तिले विकास र समृद्धि हासिल गरिरहेको उल्लेख गरे । त्यसैले नीतिको जगमा खडा भएका दलहरुले नै स्थायीत्व प्रदान गर्ने उनको भनाई थियो ।
महासचिव पोखरेलले जनता अहिले निराश रहेको बताए । आफूले मन पराएको शक्तिले शासन गर्न नपाएका कारण जनता निराश बनेको उनको भनाई छ । जनतामा निराशा छ,उनले भने,‘निराशा नफैलियोस् किन ? जनतालाई जसले मन पराएका छन् उसले शासन गर्न पाउँदैन ।’ उनले पुरानै गठबन्धन जारी रहँदा देश रसातमा भासिने भएपछि एमालेले त्याग गरेर नया गठबन्धन बनाएको बताए । ‘प्रचण्डले रियलाईजेसन गरेपछि पुरानो गठबन्धन भत्काएर नया गठबन्धन बनाएका हौं ।’
महासचिव पोखरेलले वर्तमान गठबन्धन वामपन्थी गठबन्धन नभएको बताए । वामपन्थी गठबन्धनको सरकार हो भनेर परिभाषित गरेका छैनौं,उनले भने,‘समाजवादी मोर्चा बनाएर अहिल्यै जानुपर्छ भन्ने मान्यतामापनि छैनौं ।’ मुलुकको ओरालो यात्रालाई रोकेर सकारात्मक रुपमा मुलुकलाई लैजान र मिसन ८४ लाई सफल बनाउनपनि यो गठबन्धन बनेको उनको भनाई छ । उनले मिसन ८४ मुलुकको भविष्य निर्माण गर्ने संकल्प भएको बताए । उनले कांग्रेसले वामपन्थीमा फाटो ल्याएर आफ्नो भविष्य देख्ने काम गरिरहेको आरोपसमेत लगाए ।
पार्टीका सचिव गोकर्ण विष्टले एमालेमा मनपरे दिसापनि बसाउने र मन नपर्दा श्वासपनि गन्हाउने प्रवृत्ति हाबी रहेको टिप्पणी गरेका छन् । घुमाउरो भाषामा पार्टीमा गुट मौलाएको र त्यसको असर कार्यकर्तासम्म पुगेको बताउँदै उनले भने,‘एउटा कमरेडले अर्को कमरेडलाई टाढा देख्ने अतिवादहरु पार्टीमा बेलाबेला देखिनेगरेका छन्, जस्तो कि मन प¥यो भने फलाना कमरेडको आचीपनि कस्तो बसाको, मन परेन भने फलानो कमरेड त परैबाट आउँदापनि कस्तो ह्वास्स गन्हाको । यो प्रकारको अतिवाद र संस्कारबाट माथि उठ्न जरुरी छ ।’ उनले यसको गम्भिरताका साथ समीक्षा गर्न जरुरी रहेको बताए ।
सचिव विष्टले सरकारमा हुँदैमा भुईं छाड्ने र सरकारमा नहुँदैमा आकाश खसेजस्तो नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले भने,‘सरकारमा हुँदा रामराज्य र नहुँदा आकाश खसेजस्तो गर्ने प्रकारको अतिवाद हाम्रो पार्टीमा छ, यसबाट पार्टी पंक्ति मुक्त हुन जरुरी छ ।’ उनले आर्थिक संकट र न्यून बजेट खर्च भएको चुनौतिपूर्ण घडीमा एमाले सरकारमा गएको बताए । ती चुनौति पार गर्न एमाले सक्षम र सबल हुनुपर्ने भन्दै उनले भने,‘ती चुनौतिहरु पार गर्न सक्यौं भने एमालेको जनमत थपिनेछ, नत्र घट्नेछ ।’
पार्टीका सचिव तथा लुम्विनी प्रदेश ईञ्चार्ज पद्मा अर्यालले अंक गणितका आधारमा सरकारमा बार्गेनिङ गरिरहेसम्म देशमा विकास र समृद्धि सम्भव नभएको बताए । त्यसको अन्त्यका लागि देश ध्रुविकरणमा जानुपर्ने आवश्यक्ता उनले औंल्याए । एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गरेर देशमा ध्रुविकरण गर्न जरुरी छ,उनले भने,‘एउटा एमालेको नेतृत्वमा वामपन्थी शक्ति र अर्को देशको माया भन्दा अरु कसैको छत्रछायामा चल्ने दक्षिणपन्थी शक्तिका रुपमा ।’
सचिव अर्यालले एमालेमा गुटगत प्रवृत्ति देशैभर झांगिरहेको भन्दै यस अभ्यासले एमालेलाई गलत ठाउँमा पु¥याउने चेतावनी दिईन् । एमालेका नेता कार्यकर्ता भेट्दा पार्टीलाई बलियो बनाउने भन्दा अर्को नेता कार्यकर्ताको कुरा काट्ने प्रवृत्ति मौलाएको भन्दै उनले भनिन्,‘नेतृत्वका लागि प्रतिष्पर्धा गर्छौं र हार्छौं, तर त्यसको बाछिटाले पछिसम्म हानिरहन्छ । नेतृत्वलाई खुईलाउने गलत प्रवृत्ति पार्टीमा हाबी छ । यसलाई छिटोभन्दा छिटो करेक्सन गर्न जरुरी छ ।’
अर्यालले मिसन ८४ मार्फत कास्कीमा एमालेले गुमाएको दुई वटा प्रदेश सभा क्षेत्र फर्काउनुपर्ने बताईन् । मिसन ८४ त्यतिबेला सफल हुन्छ,उनले भनिन्,‘जतिबेला पोखरा महानगरमा गुमेको एमालेको विराशत र प्रदेश सभामा गुमेको दुई सिट जित्न सफल भईन्छ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







