समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ


     एभरेस्ट आवाज    
     चैत्र १४ गते २०८० मा प्रकाशित




चैत १४ चीन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए । उनले भने, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै अघि बढाउनुपर्छ ।” आगामी महिना नेपालमा लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले चिनियाँ लगानीकर्तालाई लगानीका लागि प्रोत्साहित गर्न आग्रह गरे । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र चीन लामो समयदेखि असल सम्बन्ध भएका मुलुक भएको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध पञ्चशिलको सिद्धान्तमा आधारित रहेको बताए ।

उनले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेको समेत उल्लेख गरे । द्विपक्षीय सम्बन्धलाई उचाइमा लैजान तथा सहयोगात्मक सम्बन्धलाई अघि बढाउन उच्चस्तरको भ्रमणले इटा थपेको उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले बेल्ट एण्ड रोड इनिसाइटिभ (बिआरआइ) कार्यान्वयन कार्ययोजनामा हस्ताक्षर गर्ने अन्तिम चरणमा रहेको उल्लेख गर्दै मानवता, भ्रातृत्व र विकास साझेदारीको पहलकदमीका रूपमा बिआरआइलाई लिएको बताए ।

एक चीन सिद्धान्तप्रति नेपालको अटल प्रतिबद्धता रहेको उल्लेख गर्दै उनले तिब्बत र ताइवान चीनको अभिन्न अङ्ग भएको बताए । नेपाल र नेपाली भूमि भएर चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै नेपालले जहिले पनि चीनसँगको मैत्रीपूर्ण सम्बन्धलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

भेटवार्तामा छोनछिन पार्टी सचिव युयानले छोनछिन–काठमाडौँ सातामा दुई हवाई उडान हुने गरेको उल्लेख गर्दै छोनछिन र नेपालबीच सम्पर्क सञ्जाल अभिवृद्धि गर्न तयार रहेको बताए । उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्ने विश्वास दिलाए ।

गुणस्तरीय आर्थिक विकासमार्फत सामाजिक विकासका समस्या समाधान गर्न सकिने उल्लेख गर्दै विकासका लागि साझेदार गर्न छोनछिन इच्छुक रहेको बताए । पार्टी सचिव युयानले कृषि, शिक्षा, प्रविधि, पूर्वाधारलगायत क्षेत्रमा सहकार्य गर्न सकिने बताए । छोनछिनमा १७ नेपाली विद्यार्थी अध्यान गरिरहेको जानकारी दिँदै उनले आगामी दिनमा थप छात्रवृत्ति उपलब्ध गराइने उल्लेख गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।