बेँसीसहरमा आजदेखि आठौं लमजुङ महोत्सव सुरु


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित




लमजुङ । पर्यटन प्रवर्द्धन गर्दै आर्थिक गतिविधि बढाउने उद्देश्यले बेँसीसहर नगरपालिका वडा नं. ७ सहजीमा आजदेखि आठौँ लमजुङ महोत्सव सुरु भएको छ ।

लमजुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘स्थानीय उत्पादन, उद्योग, पर्यटन तथा पूर्वाधारः मौलिक कला–संस्कृति समद्ध लमजुङको आधार’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको हो ।

महोत्सवको आज दिउँसो उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे । राष्ट्रपति पौडेलले लमजुङ नेपाल एकीकरणको साक्षी रहेको उल्लेख गरे । उनले यहाँको पर्यटनको विकासका लागि आफूले पहल गर्ने बताए । लमजुङ लुकेर रहेको सम्पति रहेको बताउँदै उनले लमजुङमा जलविद्युत् पर्यटनको खोजी गरी समृद्धि हासिल गर्न सकिने धारणा राखे। यस्ता महोत्सवले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नुका साथै मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

सांसद उर्मिला माझीले जनताको अवस्था बदल्न सरकार अघि बढिरहेको बताए । उनले लमजुङको विकासमा सबै एकजुट हुन आवश्यक रहेको उल्लेख गरे ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य भेषबहादुर पौडेलले लमजुङ जलविद्युत् पर्यटन क्षेत्रको हिसावले परेको धारणा राखे । लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भरतकुमार श्रेष्ठले पछिल्लो समयमा जिल्लामा सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न महोत्सव आयोजना गरिएको बताए । स्थानीय उत्पादन, जडीबुटी तथा परम्परागत सीप र प्रविधिको प्रबद्र्धनका लागि महोत्सव आयोजना गरिएको उनको भनाइ छ ।

महोत्सवमा दुई सय एक वटा प्रदर्शनीकक्ष राखिएको छ । महोत्सव दुई लाखले अवलोकन गर्ने र करिब रु एक करोडको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव सुरुअघि लमजुङका विभिन्न जातजातिहरुको झाँकीसहितको र्‍याली निकालिएको थियो । महोत्सव आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।