फेवातालका सिरानबासी भन्छन् : कि मुआब्जा देउ, कि उपभोग गर्न देऊ


     एभरेस्ट आवाज    
     चैत्र २३ गते २०८० मा प्रकाशित




पोखरा, चैत २३

पोखरा महानगरपालिका वडा नम्बर–२३ का लक्ष्मण तिमिल्सिनाको फेवातालको सिरान क्षेत्रमा जग्गा छ । उनको हजुरबुबाले पैत्रीक सम्पतीवापत दिएको जग्गामा उनले घर बनाएका छन् । तर उनीसँगै उनको भाईलाई दिएको जग्गामा भने भाईले घर बनाउन पाएका छैनन् । उनी भन्छन्,‘मैले केहि वर्ष अगाडि नै घर बनाएँ, तर भाई विदेश गएर फर्किएपछि बनाउँछु भनेर बस्यो, अहिले पैसा कमाएर फर्किएपछि भाईले घर बनाउँछु भन्दा महानगरले रोक लगाएको छ ।’ उनका अनुसार महानगरले सिमसार क्षेत्र पुर्न पाईंदैन भनेर घर बनाउन रोक लगाएको हो ।

सोहि क्षेत्रका हरि भण्डारी फेवाको नाममा डलरको खेती गर्नेहरुले स्थानियलाई गरीब बनाएको गुनासो गर्छन् । सिमसारका नाममा जग्गा काट्न र पुर्न नपाएको उनको गुनासो छ । फेवा सम्पदा हो भन्दाभन्दै हामी गरीव हुनुपरेको छ,उनले भने,‘पैत्री सम्पतीलाई अंशवण्डा गर्नपनि नपाउने स्थिति छ ।’ उनले महानगरले नै त्यहाँको जग्गालाई आवासीय भनेर वर्गिकरण गरेपनि आवास बनाउन भने रोक लगाउँदै आएको आरोप लगाए । पहिले दाजुले घर बनायो,उनले भने,‘भाईले पछि बनाउँछु भनेर राख्दा अहिले बनाउनै पाएन ।’

स्थानिय पूर्णाखर तिमिल्सिना पहुँचवालाले जग्गा पुरेर घर बनाउने गरेको दाबी गर्छन् । समान प्रकृतिको जग्गामापनि महानगरले विभेद गरेको भन्दै उनले भने,‘मेयरका आफन्त, साथीभाईले धमाधम जग्गा पुरेर घर बनाएका छन्, हामी पहुँच नपुग्नेलाई मात्रै रोक लगाइएको छ ।’ उनले पैसा खुवाउने हो भने जग्गा पुर्न पाईने नत्र नपाइने स्थिति रहेकोसमेत आरोप लगाए ।

जग्गा धनी राममाया सुवेदीले समान प्रकृतिको जग्गामा समान न्याय हुनुपर्ने भएपनि महानगरले त्यसो नगरेको आरोप लगाउँछिन् । हामीलाई समान अधिकार दिनूस्,उनले भनिन्,‘मेयरको आसेपासेले पुर्न पाउने, अनि समान प्रकृतिको जग्गामा हामीलेचाहिं नपाउने स्थिति भयो । समान प्रकृतिको जग्गामा कसैले रजाईं गर्न पाउने, अनि कसैलाईचाहिं सुकुम्बासी बनाउने ? यस्तो पाईंदैन ।’

स्थानिय कृष्ण गुरुङ उपभोग गर्न नदिने हो भने जग्गाको मुआब्जा दिनुपर्ने बताउँछन् । जग्गाको भोगाधिकार नपाउँदा लालपूर्जा सिरानीमूनी राख्नुबाहेक काम नलागेको उनको भनाई छ । स्थानियलाई बिचल्ली नबनाऔ,उनले भने‘कि मुआब्जा दिऔं, कित उपभोग गर्न दिऔं ।’

अर्का स्थानिय छवीलाल लामिछाने फेवातालको संरक्षणका नाममा स्थानियलाई दुःख नदिन मेयरलाई आग्रह गर्छन् । महानगर र मेयरको सनको भरमा मनोमानी चल्दैन,उनले भने,‘सिमसार भए यसअघि पुरेका जग्गापनि माटो निकालेर सिमसार नै बनाऔं । होईन उपभोग गर्न पाईन्छ भने हामीलेपनि पाउनुपर्छ ।’

अर्का राम पराजुली गरीवीले उठीवास लाग्दापनि लालपूर्जा भएको आफ्नो जग्गा काम नलाग्दा दुःख लाग्ने गरेको बताउँछन् । धितो राख्न र बेच्नपनि नपाउने कस्तो अन्याय हो,उनले भने,‘कि उपभोग गर्न देऊ, कि बेच्न देऊ, होईन भने कम्तिमा मुआब्जा देऊ ।’

स्थानियले उपभोग गर्न पाउनुपर्ने माग गरिरहेको सो क्षेत्रमा उच्च अदालत पोखराले रोक नलगाउन पोखरा महानगरपालिकालाई आदेश दिएको छ । अधिवक्ता सरस्वती पहारीले हालेको रिटमा न्यायाधीस मिलनकुमार राईले व्यक्तिको जग्गामा भोगाधिकार दिन आदेश दिएका हुन् । तर आदेश विपरित महानगरले सो क्षेत्रमा जग्गा पुर्न र घेराबेरा गर्न रोक लगाउँदै आएको छ ।

स्थानियको पक्षमा लागेका युवराज खतिवडा महानगरले स्थानियलाई अन्याय गरेको आरोप लगाउँछन् । समान प्रकृतिको जग्गामा कसैले घर बनाउने, अनि कसैलेचाहिं पुर्नपनि नपाउने बनाउनु स्थानियमाथिको अन्याय भएको उनको दाबी छ । त्यसैले सो अन्यायबिरुद्ध आफू उभिएको भन्दै उनले भने,‘अहिले त अदालतलेपनि आदेश दिएको छ । यसका लागि लडिरहन्छौं । राज्यले गरेको यो विभेद एकदिन अन्त्य गरेर छाड्छौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।