सभामुखसहितको समर्थनमा सत्ता गठबन्धनले गर्यो गण्डकीको मुख्यमन्त्रीमा दाबी पेस


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०८० मा प्रकाशित




फाइल तस्विर

पोखरा, चैत २५

सत्ता गठबन्धनले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । सत्ता गठबन्धनले सभामुख कृष्ण धितालसहितको समर्थनमा एमालेका खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन दाबी पेस गरेका हुन् । खगराजलाई बहालवाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङेलेपनि समर्थन गरेका छन् । उनी कांग्रेसका हाल बहालवाला सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री छन् । उनले हालसम्म राजिनामा दिइसकेका छैनन् ।

दाबी पेस गर्न प्रस्तावित मुख्यमन्त्री अधिकारी नेकपा एमालेका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, दीपक मनाङेसहित गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको निवास पुगेका थिए ।

नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक कुसुम बुढा मगरले एमालेका २२, माओवादीका ८ र दीपक मनाङेको समर्थनमा अधिकारीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेको जानकारी दिईन् । दाबी अनुसार मुख्यमन्त्री नियुक्त हुने उनको विश्वास छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सत्ता गठबन्धनका नेकपा एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र स्वतन्त्रबाट जितेर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् । राप्रपाले सरकारका बारेमा आधिकारिक धारणा बनाइसकेको छैन । यद्वपी राप्रपाले सत्ता गठबन्धनलाई नसघाउने निर्णय भइसकेकाले प्रदेशमा त्यहि लागु हुनसक्ने विश्लेषण गरिदैआएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।