पोखरामा जैविक कृषि विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु, ३२ देशका झण्डै दुई सय सहभागि


     एभरेस्ट आवाज    
     चैत्र २७ गते २०८० मा प्रकाशित




पोखरा । पोखरामा कृषि जैविक विविधतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ । फरेष्ट एण्ड फार्म प्रोड्यूसर अर्गनाइजेसनको आयोजनामा पोखराको पाँचतारे होटलमा कृषि जैविक विविधतासम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलन शुरु भएको हो । सम्मेलनमा ३२ देशका झण्डै दुई सय जना कृषि विशेषज्ञ, कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि तथा सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।

सम्मेलनको मंगलबार कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी शाहले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शाहले नेपाल जैविक विविधताको धनी देश भएको बताईन् । उनले नेपालमा ६ हजार ६ सय १८ प्रजातिका बालीहरु उत्पादन हुने गरेको उल्लेख गरिन् । रैथाने बाली संरक्षण चुनौतिपूर्ण अवस्थामा रहेको बताउँदै उनले भनिन्,‘यसको संरक्षणमा संघ, प्रदेश र स्थानिय तह गरेर तीनै तहले काम गरिरहेको छ ।’ उनले कृषि जैविक विविधता संरक्षण र सम्वद्र्धन गर्ने किसान भएको बताए । तर यसको गुणात्मक विकास गर्न जरुरी रहेको बताउँदै उनले थपे,‘लोपोन्मुख रैथाने बालीको संरक्षण गर्दै प्रविधिको प्रयोग गरेर उत्पादन बृद्धि गर्ने, वातावरण अनुकुलन गर्ने, कार्य सहज बनाउँदै दीगो उपयोगिता गर्न जरुरी छ ।’

उद्घाटन शत्रको अध्यक्षता गरेका वन तथा वातावरण मन्त्री नवलकिशोर शाह सुडीले परिणाम उन्मुख रणनीति र कार्यनीति कार्ययोजना बनाएर कृषि जैविक विविधतासहित उत्पादन बृद्धि गर्नुपर्ने बताए । उनले जैविक विविधता संरक्षणको जिम्मेवारी किसानमै हुने बताउँदै उनले भने,‘किसान उत्पादक मात्र होईनन्, उनीहरु जैविक विविधताको संरक्षकपनि हुन् ।’ त्यसैले किसानलाई जागरुक बनाउँदै उत्पादन बृद्धिसँगै जैविक विविधता संरक्षणमा लगाउनुपर्ने उनको भनाई थियो ।

फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसनका नेपाल र भुटान प्रतिनिधि केन सिमिजुले नेपाल जैविक विविधतामा धनी भएपनि जलवायु परिवर्तनको जोखिममा रहेको बताए । जैविक विविधता जोगाउनु चुनौतिपूर्ण रहेको बताउँदै उनले भने,‘जैविक विविधतामा नेपाल धनी त छ तर सँगसँगै जलवायु परिवर्तनको जोखिममा पनि छ भन्ने बिर्सनु हुँदैन ।’

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)का अध्यक्ष ठाकुर भण्डारीले कृषि र वनलाई एकीकृत योजना बनाएर नेपालले काम गर्ने प्रयास गरिरहेको बताए । उनले जैविक विविधताको क्षमा नेपालले संरक्षण, सम्वद्र्धन र उपयोगिताको नीति अवलम्वन गरिरहेको उल्लेख गरे । प्रविधिको प्रयोगमार्फत कृषि उत्पादन बढाउँदा जैविक विविधताको संरक्षणमा ध्यान दिइएको बताउँदै उनले भने,‘यसले जिविकोपार्जन र समृद्धि हासिल गर्नपनि सघाउनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

आईआईईडीका वन डाईरेक्टर डन्कन म्याक्विनले जैविक विविधिकृत कृषि प्रणाली अप्नाएर उत्पादन र मुनाफापनि बढाउने र कृषिलाई थप सहज बनाउन प्रत्यत्नशील भएर काम गरिरहेको बताए । उनले नेपाल जैविक विविधिकरणको केन्द्र बन्ने विश्वासपनि व्यक्त गरे ।

फरेष्ट एण्ड फार्म फ्यासिलिटीका म्यानेजर लुईस मिगुईल अपारिसियोले जलवायु अनुकुलन हुनेगरी कृषि जैविक विविधिकरणमा सघाउन सम्मेलन आयोजना गरिएको स्पष्ट पारे ।उनले भने,‘भाष्य परिवर्तन गर्नुछ, मिलेर संयुक्त प्रयास गरौं भन्ने भावनाको जागृत गराउनु छ । सामाजिक, आर्थिक परिवर्तनसँगै वातावरण सन्तुलन कायम राखेर जलवायु परिवर्तन न्यूनिकरणका लागि उत्थानशील बनाउनु छ ।’

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनकी वन तथा कृषि सहज कार्यक्रमकी नेपाल सहजकर्ता रक्षा शाहले सम्मेलनले कृषि जैविक विविधताको संरक्षण, सम्वद्र्धन गर्दै त्यसको अभ्यासबारे ज्ञान आदानप्रदान हुने जानकारी दिईन् । चार दिनसम्म चल्ने सम्मेलनले पोखरा घोषणापत्रसमेत जारी गर्ने उनले बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।