राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित


     एभरेस्ट आवाज    
     चैत्र २८ गते २०८० मा प्रकाशित




काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए । एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो ।

उक्त पदमा नेपाली कांग्रेसका सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो । अध्यक्ष दाहालले बहुमत प्राप्त नगरेपछि सांसद पुडासैनीलाई उपाध्यक्ष पदका लागि अस्वीकृत भएको घोषणा गरेका थिए ।

सभाको अर्को बैठक यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।