संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित




वैशाख २ काठमाण्डौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए ।

बैठकमा उनले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराए । चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो । यस अवधिमा २३ दिनमा २३ पटक गरी कूल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको जनाइएको छ । यस अधिवेशनमा अनुगमन तथा मूल्याङ्कन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन् ।

आजको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताएका थिए ।साथै उनले आजको लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो ।

बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए । उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।