आवेश र उत्तेजनाले समस्या सुल्झदैनः अध्यक्ष ओली


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित




वैशाख २ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आवेश र उत्तेजनामा नआइ संयमित ढङ्गले विधिअनुरुप समस्याको समाधान खोज्न आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा उनले कांग्रेसका कारण सदन सञ्चालन अवरुद्ध भएको र विधेयक अघि बढाउने कार्य प्रभावित भएको प्रतिक्रिया दिए ।

अध्यक्ष ओलीले भने, “कांग्रेसले आक्रोस र पीडाले जेपायो त्यही बोलिरहेको छ । यसो गर्नु हुन्न । संसदीय शासन प्रणालीलाई प्रणालीकारुपमा रक्षा गर्नुपर्छ, यसको मूल्य र मान्यतालाई संरक्षण गर्दै अघि बढ्ने कुरा गर्नुपर्छ ।” सदन अघि बढाउने, चल्ने र चलाउने विषयमा आफ्नै खाले मर्यादा र सीमा रहेको बताउँदै एमाले संसदीय दलका नेता ओलीले पुराना अनुभवका आधारमा कमी कमजोरीलाई सच्याएर जानुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष ओलीले भने, “पहिलेको सरकारको विधेयक पारित गर्न ध्यान नै थिएन, अहिलेको सरकार भरखर आएको छ । कांग्रेस तर्कमा आउँदैन । उहाँहरु ढिपी र जिद्धीमा जानुहुन्छ । त्यो तरिका सच्याउनुपर्छ ।”

सरकारले अवरुद्ध सदनलाई सञ्चालन गर्न समन्वयकारी भूमिका निर्वाह गरिरहेको सुनाउँदै उनले बजेट र विधेयक तयारी, प्रस्तुति र छलफलको कार्यभार भएकाले अवरुद्ध सदनमै मात्रै अल्झिएर बस्ने कुरा नभएको प्रतिक्रिया दिए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, “यतिखेर हिउँदे अधिवेशन बन्द हुनैपर्दथ्यो । पन्ध्र दिनको समयावधिपछि बजेट अधिवेशन सुरु हुनुपर्छ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यो अघि नीति तथा कार्यक्रम पास गर्नुपर्छ ।”


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।