राजतन्त्र फर्कने कुरा असम्भवः सभापति देउवा


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित




वैशाख २ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान र अभ्यासमा रहेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सबल बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन् ।

पूर्वप्रधानमन्त्री एवं संविधानसभा सदस्य सूर्यबहादुर थापाको नवौँ स्मृति दिवसका अवसरमा सूर्यबहादुर थापा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा उनले अहिलेको व्यवस्थालाई अझ सर्वस्वीकार्य बनाएर लैजानुपर्ने बताए । “अहिलेको राजनीतिक व्यवस्थालाई अझ बढी सुदृढ र सबल बनाएर लैजानुपर्छ, संविधानमा रहेका केही कमजोरीलाई सुधारेर अहिलेको व्यवस्थालाई प्रभावकारी बनाउन सकिन्छ”, सभापति देउवाले भने ।

पूर्वप्रधानमन्त्री देउवाले अहिलेको अवस्थामा राजतन्त्र फर्कने कुरा असम्भव रहेको पनि स्पष्ट गरे । उनले भने, “अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । राजा फर्काउनुपर्यो भनेर केही व्यक्ति हिँडेका छन् तर अब राजा फर्काउने कुरा असम्भव हो । त्यसैले अहिलेको व्यवस्थालाई नै अझ बढी सुदृढ बनाएर लैजानुपर्छ । संविधानमा रहेका कमिकमजोरीलाई सुधार्ने ठाउँ छन् ।”

सभापति देउवाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन पनि सूर्यबहादुर थापाको भूमिका रहेको स्मरण गरे ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा प्रकाशचन्द्र लोहोनीले कुशल राजनीतिज्ञ स्व थापा बहुआयामिक व्यक्तित्व भएको चर्चा गरे । उनले अहिलेको अवस्थामा मुलुकलाई सही दिशा दिन सबै राजनीतिक शक्ति एकताबद्ध भएर जानुपर्ने धारणा पनि राखे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंहकेसीले मुलुकको राजनीतिक र प्रशासनिक क्षेत्रमा स्व थापाको उल्लेखनीय योगदान रहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले अहिलेको राजनीतिक व्यवस्था ल्याउन स्व थापाको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले अवलम्बन गरेको दृष्टान्तलाई आत्मसात गरेर अघि बढ्नुपर्नेमा जोड दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।