पोखरामा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ–२०८१ शुरु


     एभरेस्ट आवाज    
     वैशाख २ गते २०८१ मा प्रकाशित




वैशाख २ पोखरा । श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आजदेखि शुरु भएको छ ।

ज्ञानमहायज्ञको उद्घाटन अगाडी पोखराको सेती नदीस्थित गाईघाटबाट शान्ती कलश सहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँको परिक्रममा गर्दै महायज्ञ स्थलमा पुगेको थियो ।

महायज्ञको उद्घाटन गर्दै गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधिश अनन्तश्रीविभूषित स्वामी आत्मानन्द गिरी महाराजले गर्नुहुदै धर्म, संस्कार र संस्कृतिको संरक्षणमा यस महायज्ञले टेवा पुर्याउने बताए ।

उनले ज्ञानभुमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभुमि रहेको बताउँदै लोककल्याण तथा विशुद्ध आध्यात्मिक साधानाको उद्देश्यमा केन्द्रित महायज्ञ रहेको उल्लेख गरे ।

ज्ञानमहायज्ञका प्रमुख भागवत वाचक हरिहर सन्यास आश्रम, देवघाटधाम तनहुँका पीठाधिश अनन्त श्रीविभूषित स्वामी ज्ञानान्द सरस्वतीजी महाराज, महेश सन्यास आश्रमका पीठाधिश श्री रमणान्द गिरी महाराज, श्री १००८ स्वामी केशवानन्द गिरीजी महाराज सहित ११ जना स्वामी लगायतको उपस्थित रहेको छ ।

ज्ञानमहायज्ञ सम्पादन समितिका अध्यक्ष लक्ष्मण पौडेल, सह–अध्यक्ष महेश पराजुली, उपाध्यक्ष सूर्यप्रसाद भण्डारी, राप्रपा नेता रविन्द्र मिश्र, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पूर्व सभापति सोभियतबहादुर अधिकारी लगायतले सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुनको साथै विश्वमा शान्ति फैलने बिषयमा जोड दिएका थिए ।

सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता बृद्धि गर्ने हिसाबले आयोजना गरिएको ज्ञानमहायज्ञ बैशाख १० गतेसम्म सञ्चालन हुने छ ।

बैशाख ३ गतेदेखि ९ गतेसम्म पाठ परायण, प्रवचन तथा अनुष्ठान हुने र १० गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेक सहित प्रसाद वितरण गरी महायज्ञको समापन हुने आयोजकले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।