पोखरा, चैत ४
पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’लाई उपचारका लागि आर्थिक अभाव भएको छ । ज्वरो र निमोनियाले थलिएका प्रकटको मणिपाल शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । तर उनको उपचारमा आर्थिक समस्या परेको पारिवारिक श्रोतले जनाएको छ ।
श्रृंगारिक गजल, कविता र गीतका लागि चर्चित शिवको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान थालिएको पोखरेली युवा सांस्कृतिक परिवारले जनाएको छ । परिवारको आग्रहमा पोयुसाँपले आर्थिक संकलन अभियान थालेको अध्यक्ष उपेन्द्र पौडेलले बताए ।
पोयुसाँपको फेसबुक पेजमा प्रकटलाई आर्थिक सहयोग गरिदिन आग्रह गरिएको अपिल सार्वजनिक गरिएको छ ।
‘उहाँलाई ज्वरो आइरहेको थियो । हिजो बिहान अलि बढी नै समस्या देखिएपछि अस्पताल लगिएको थियो’, प्रकटका भतिज प्रज्वल पगेनीले भने, ‘उहाँमा धेरै इन्फेक्सन पनि देखियो । निमोनिया र जन्डिसले ग्रस्त पारेको रहेछ र उपचारमा पनि आर्थिक समस्या परेपछि सहयोगका लागि आग्रह गरिएको हो ।’ उपचार कोषमा संस्थाले २५ हजार राखेर आर्थिक संकलन अभियानको शुरुवात गरेको छ । संस्थाले एनएमबी बैंकको १२१००९४०१२६०००११ नम्बरको खातामा रकम जम्मा गर्न आह्वान गर्दै क्यूआर कोर्डसमेत सामाजिक सञ्जालमा राखेको छ ।
प्रकटलाई केहि दिन अगाडिदेखि ज्वरो आएको र ज्वरो क्रम नरोकिएपछि उनलाई जचाउनका लागि सोमबार अस्पताल लगिएको थियो । जाँचका क्रममा प्रकटलाई निमोनियाको गम्भीर संक्रमण देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्न थालिएको पारिवारिक श्रोतले जनाएको छ । निमोनियासँगै प्रकटलाई जण्डिसपनि देखिएको श्रोतको भनाई छ ।
प्रकटका कविता, गजलका किताबहरु प्रकाशित छन् । उनले लेखेको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ गीत चर्चित भएको थियो । उनी विशेष गरेर श्रृंगारिक भावमा गजल लेख्न प्रख्यात छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।