पोखरा । पोखरेली साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । ज्वरो र निमोनियाले थलिएका प्रकटको मंगलबार मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सोमबार अस्पताल भर्ना भएका प्रकटको मंगलबार दिउँसो उपचारका क्रममा निधन भएको पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)का अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।
प्रकटलाई केहि दिन अगाडिदेखि ज्वरो आएको र ज्वरो आउने क्रम नरोकिएपछि उनलाई जचाउनका लागि सोमबार विहान अस्पताल लगिएको थियो । जाँचका क्रममा प्रकटलाई निमोनिया र जण्डिसको गम्भीर संक्रमण देखिएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । तर मंगलबार चिकित्सकले उनको निधन भएको जानकारी दियो,पोयुसाँप अध्यक्ष पौडेलले भने,‘अस्पतालका अनुसार प्रकटको मल्टि अर्गान फेल भएको हो ।’ निमोनियासँगै प्रकटलाई जण्डिसपनि देखिएको अस्पतालका चिकित्सकको भनाई उद्धृत गर्दै अध्यक्ष पौडेलले बताए ।
यसअघि प्रकटको उपचारमा आर्थिक अभाव भएको भन्दै पोयुसाँपले आर्थिक संकलन अभियानसमेत सञ्चालन गरेको थियो । परिवारको आग्रहमै आर्थिक संकलन अभियान सञ्चालन गरेपनि प्रकटको निधनसँगै सो अभियान रोकिएको पौडेलले जानकारी दिए । मंगलबार अपराह्न सम्ममा पोयुसाँपको खातामा संस्थाको २५ हजारसहित कुल ९३ हजार ९ सय ५८ रुपैयाँ जम्मा भएको छ भने पोखरा महानगरपालिका र रुपा गाउँपालिकाले समान एक/एक लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको अध्यक्ष पौडेलले जानकारी दिए । त्यसबाहेक साहित्यकार जे अस्मीताले ५० हजार परिवारलाई सिधै हस्तान्तरण गरेको जनाइएको छ ।
श्रृंगारिक गजल, कविता र गीत लेख्ने साहित्यकार प्रकटका कविता, गजलका किताबहरु प्रकाशित छन् । उनले लेखेको ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’ गीत चर्चित भएको थियो । उनी विशेष गरेर श्रृंगारिक भावमा गजल लेख्न प्रख्यात छन् ।
स्वर्गिय प्रकटको बुधबार अन्त्येष्टी गरिने भएको छ । उनको बुधबार दिउँसो मणिपाल शिक्षण अस्पतालबाट शवयात्रासहित तुलसीघाटमा अन्त्येष्टि गरिने परिवारलाई उद्धृत गर्दै अध्यक्ष पौडेलले जानकारी दिए । प्रकटका श्रीमती, एक छोरा र छोरी छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।