
वैशाख ५ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले काठमाडौँमा जारी ’हिमालयको रहस्य कला प्रदर्शनी’ले विश्वलाई हिमाल जोगाउन आव्हान गरेको बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा जारी कला प्रदर्शनी अवलोकनको क्रममा आज संक्षिप्त प्रतिक्रिया दिँदै उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेको असरले विश्व चिन्तित भएको बेला कलाको माध्यमबाट वास्तविक समस्या उजागर गरी हिमाल बचाउन नयाँ सन्देश प्रवाह गरेको बताए ।
उनले भने, “हामीले सहजै महसुस गर्नसक्ने गरी छिनमै जाडो र छिनमै गर्मी भइरहेको छ । हिमालका हिउँ पग्लिरहेका छन् । पछिल्लो समयमा देखिइरहेको जलवायु परिवर्तनको यो असरलाई कम गर्न सचेतना फैलाउन जरुरी छ, यस्ता प्रदर्शनीले विश्वलाई सचेत गराउन मद्दत गर्छ ।”
सबैले प्रयत्न गरेमा भयावह स्थितिलाई सन्तुलनमा ल्याउन सकिने उल्लेख गर्दै उनले खासगरी शक्ति राष्ट्रहरुले धेरै क्षति पु¥याइरहेको बताए । “त्यसका बारेमा नेपाल सरकारले प्रयत्न पनि गरिरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोप–२८ मा राम्रोसँग विषय उठाउनुभएको छ”, उनल भने, “संयुक्त राष्ट्र सङघका महासचिव एन्टेनियो गेटेरेसले सगरमाथा र अन्नपूर्ण बेसक्याम्पमा पुगेरै विश्वलाई शक्तिशाली सन्देश र अपिल गर्नुभएको छ । मलाई लाग्छ उहाँको अपिलले पनि प्रभाव पारेको छ ।”
उनले सबै कलाकारले मेहनत गरेको र यसले महत्वपूर्ण सन्देश दिएको आफूले महसुस गरेको प्रतिक्रिया दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।