साढे तीस लाखको आलु बिक्री गर्दै सकियो: हेमजा आलु महोत्सव


     एभरेस्ट आवाज    
     वैशाख ६ गते २०८१ मा प्रकाशित




आलु गाउँका रूपमा देशमै प्रख्यात पोखरा महानगरपालिका–२५ हेमजामा सञ्चालन भएको आलु महोत्सव सकिएको छ ।

गत चैत २५ गतेदेखि सुरु भएको आलु महोत्सव बुधबारसम्म रु ३० लाख ६५ हजार सात सय २० को आलु बिक्री गर्दै सम्पन्न भएको । महोत्सवस्थलबाट कुल ७६ हजार छ सय ४३ किलो आलु बिक्री भएको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए।

महोत्सवस्थलमा आलु बिक्रीका लागि पहाड निर्माण गरिएको थियो । प्रतिकिलो रु ४० का दरले आलु बिक्री गरिएको थियो । कुल तीन हजार चार सय ४५ घरपरिवारले आलु खरिद गरी लगेको तिमिल्सिनाले बताए ।

कास्की, गोरखा, म्याग्दी, मुस्ताङ, स्याङ्जा, चितवन, बुटबल, बागलुङ, तनहुँलगायत काठमाडौँबाट समेत मानिसहरू आलु खरिद गर्न आएको बताइन्छ । प्रतिघरपरिवारले न्यूनतम पाँच किलोदेखि अधिकतम तीन सय किलो आलु खरिद गरेका हुन् । हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वस्थकर मानिने भएकाले उपभोक्ताको आकर्षण बढ्ने गर्दछ ।

यसैगरी महोत्सवभर आलुलगायत अन्य सामग्रीसमेत गरी रु तीन करोड ७० लाखको कारोबार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव समापनका अवसरमा अग्रज कृषकलाई सम्मान गरिएको छ । आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्ने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बानियाँ, हरिमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सिनालाई नगदसहित सम्मान गरिएको हो ।

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटविरुवाको परीक्षण तथा रोगको निदान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनीलगायत रहेका थिए ।

‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव गरिएको हो । कास्कीमा एक हजार दुई सय ५३ हेक्टर जमिनमा आलुखेती गरिन्छ । त्यसबाट वार्षिक २१ हजार पाँच सय १० टन उत्पादन हुँदा हेमजामा पाँच सय हेक्टर क्षेत्रफल जनिमा आलुखेती गर्ने गरिएकामा पाँच हजार टन उत्पादन हुने गरेको छ ।

हेमजामा एमएस २२, जनकदेव, खुमलटार रातोलगायतका आलुखेती गरिन्छ । यहाँका पाँच सय ४० घरपरिवार किसान व्यावसायिक रूपमा आलुखेतीमा आबद्ध छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।