गण्डकी प्रदेश सभाको बैठक अनिश्चित कालसम्मका लागि स्थगित


     एभरेस्ट आवाज    
     वैशाख ७ गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख ७

गण्डकी प्रदेश सभा बैठक अनिश्चित कालसम्मका लागि स्थगित भएको छ । विश्वासको मत माग्ने प्रयोजनका लागि डाकिएको प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो ।

विवादका बीच मुख्यमन्त्री बनेका अधिकारीले शुक्रबार विश्वासको मत माग्ने तयारी गरेका थिए । तर विपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिस्कार गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरिएको हो । उसो त विश्वासको मत पाउन आवश्यक ३१ मत नपुग्ने देखेपछि मुख्यमन्त्री अधिकारी विश्वासको मत माग्ने निर्णयबाट पहिल्यै पछि हटिसकेका थिए । त्यहि भएर विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा अधिवेशन डाकिएपनि सरकारले प्रदेश सभालाई विश्वासको मत लिने भनेर जानकारी गराएको थिएन । त्यसमा विपक्षी दलहरुले बैठक बहिस्कार नै गर्ने निर्णय गरेपछि अधिवेशनको पहिलो बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने भनिएको थियो । सोहि अनुसार प्रदेश सभा सचिवालयले जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक टेबुल गर्ने भनेर सूचना टाँसेको थियो । तर विपक्षीको बहिस्कारपछि राष्ट्रगानमा सरिक र मौन धारण गरेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको हो ।

बैठक स्थगित भएसँगै विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको प्रयास विफल भएको छ । सर्वोच्चले दुरगामी महत्वका निर्णय नगर्न आदेश दिएपनि त्यस विपरित विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री अधिकारीको प्रयास असफल भएको हो । विपक्षी दलहरुको बैठक बहिस्कार गर्ने निर्णय र विश्वासको मत प्राप्त गर्न आवश्यक मत नपुग्ने निश्चित भएपछि विश्वासको मत लिने निर्णयबाट मुख्यमन्त्री अधिकारी ब्याक भएका हुन् । यससँगै सर्वोच्च अदालतको आदेश अघि नै विश्वासको मत लिएर फैसला प्रभावित पार्ने मुख्यमन्त्री अधिकारीको योजनामा तुषारापात भएको छ । जसका कारण अधिकारी नेतृत्वको सरकार संकटमा पर्ने निश्चितजस्तै देखिन्छ ।

प्रदेश सभाको बैठकअघि बसेको कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । राप्रपाले भने बिना जानकारी बैठक बहिस्कार गरेको थियो ।

संसदीय दलको बैठकको निर्णय अनुसार बैठक बहिस्कार गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जानकारी दिए । सर्वोच्चले दुरगामी महत्वका निर्णय नगर्न दिएको आदेश विपरित अधिवेशन बोलाइएकाले बैठक बहिस्कार गरेको उनले प्रष्ट्याए ।

कांग्रेसले सर्वोच्चको फैसला नआएसम्म बैठक बहिस्कार गर्ने जनाएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले सर्वोच्चको फैसला नआएसम्म बैठक बहिस्कार गर्ने निर्णय गरेको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

सभामुखलाईसमेत गणना गरेर मुख्यमन्त्रीका लागि खगराज अधिकारीले दाबी पेस गरेको र सोहि आधारमा प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्री दाबी गरेपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हालेका थिए । अग्राधिकार दिइएको सो रिट उपर सर्वोच्चले यहि बैशाख १० गते पेशी तोकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।