‘तथ्य र प्रमाणका आधारमा पत्रकार महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै हुन्’


     एभरेस्ट आवाज    
     वैशाख ९ गते २०८१ मा प्रकाशित




इतिहास शक्ति र सत्तामा रहेकाको मात्रै लेखिनुपर्छ भन्ने होइनः वक्ता पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको बताएका छन् । नेपाल पत्रकार महासंघको ७३ औं स्थापना दिवसको अवसरमा आइतबार फोनिज गण्डकी तथा कास्की शाखाले पोखरामा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा बहस र संवादमार्फत् टुंगो लगाउनुपर्नेमा जोड दिए । सत्य र इतिहास लुकाएर नलुक्ने उनको भनाई थियो । ‘सत्यनारायण बहादुरको विषयमा कुरा उठिरहँदा अन्य अग्रज व्यक्तित्वको अपमान भने गर्नु भएन ।’ सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आयोजित फोनिज संवाद कार्यक्रममा उनले भने । कार्यक्रममा संघीय सल्लाहकार गुरुङले सत्यनाराण बहादुर श्रेष्ठ नै संस्थापक अध्यक्ष हुन् भन्ने प्रमाण फोनिजको संघीय तहमा प्रमाण सुरक्षित रहेको समेत बताएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले अहिले पत्रकार खुलेर लेख्न तथा बोल्न सक्ने वातावरण हुनुमा सत्यनारायण बहादुर श्रेष्ठ तथा कृष्णप्रसाद भट्टराई दुवैको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंगले उठाइरहेको संस्थापक अध्यक्षको विषयमा केन्द्रीय तहबाटै पहल हुनुपर्ने उनको जोड थियो । ‘फोनिजले यो विषयलाई नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशनमा उठाउनुपर्छ ।’ उनले भनिन् । साथै अध्यक्ष भण्डारीले फोनिजले संस्थापक अध्यक्षको विषयमा उठाइरहेको माग र धारणालाई नजिकबाट नियालिरहेको बताएकी छिन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले इतिहास शक्ति र सत्तामा भएकाको मात्रै लेखिनुपर्छ भन्ने नभएको बताए । संस्थापक अध्यक्ष को हुन् भन्ने विषयमा भइरहेको विवादलाई सत्य र तथ्यको आधारमा छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्नेमा उनको जोड थियो । ‘नेपाल पत्रकार महासंघको ७४ औं स्थापना दिवस विवारहित तरिकाले मनाउने गरी समस्याको समाधान गर्नुपर्छ ।’ उनले भने । हाल नेपाल पत्रकार महासंघले जारी राखेको शुद्धीकरणको अभियानमा केही सुझाव तथा गुनासो भए प्रकट गर्न समेत उनले सम्पूर्ण श्रमजीवि पत्रकारलाई आग्रह गरेका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीष मगरको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इन्चार्ज एमबी आस्था मगर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, नेपाल प्रेस चौतारी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुवँर, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय समितिका मुख्य सचिव सुजन लामा लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।

कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरुङले स्वागत गरेका थिए भने सञ्चालन फोनिज गण्डकीका महासचिव सुमन गुरुङले गरेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।