तनहुँमा अदुवा उत्पादन बढ्यो


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित




तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन् ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार छ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो ।

गत आव २०७९÷८० मा पाँच हजार छ सय ५४ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । त्यतिबेला पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो । व्यास नगरपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिकामा व्यावसायिक रूपमा अदुवाखेती हुँदै आएको छ ।

पछिल्लो केही वर्षयता बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीमा आकर्षित भएको पाइएको छ । बाँदरले अदुवामा क्षति नपुर्याउने भएकाले किसान यसतर्फ बढी आकर्षित छन् । ज्ञान केन्द्रले मसला तथा निर्यातयोग्य बाली उत्पादन, प्रशोधन तथा बजारीकरण सहयोग कार्यक्रममार्फत अदुवा उत्पादक किसानलाई सहयोग गर्ने कार्यक्रम रहेको परियारले जानकारी दिए ।

स्थानीय तहले अदुवा उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेपछि पनि किसान अदुवाखेतीमा लागेका छन् । घिरिङ गाउँपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गरिरहेको छ । निर्वाहमुखी खेती गरिरहेकालाई व्यावसायिक बनाउन गत वर्षदेखि गाउँपालिकाले अनुदानको नीति ल्याएको छ ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङमा उत्पादित अदुवा विभिन्न जिल्लामा निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिक बनाउन खोजिएको बताए । गाउँपालिकाले प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान दिँदै आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।