कास्की माओवादीले गर्यो लेनिनको योगदानको स्मरण


     एभरेस्ट आवाज    
     वैशाख १० गते २०८१ मा प्रकाशित




पोखरा, बैशाख १०

नेकपा माओवादी केन्द्र कास्कीले लेनिनको योगदानको स्मरण गरेको छ । लेनिनको १५४ औं जन्मजयन्ती र नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी कास्कीले सोमबार पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलन र क्रान्तिका नायक लेनिनको योगदानको स्मरण गरिएको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले लेनिन क्रान्ति र समाजवादको पर्याय भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन र रुसको कम्युनिष्ट आन्दोलनको चरित्र एउटै भएको उल्लेख गरे । लेनिनले कुनै एउटा देशलेमात्रपनि क्रान्तिमार्फत समाजवाद स्थापना गर्नसक्छ भन्ने पुष्टि गरेको बताए । नेपालमापनि समाजवाद स्थापना गर्न सकिने तर त्यसका लागि कम्युनिष्टहरु मिल्नुपर्नेमा उनले जोड दिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की ईञ्चार्ज रामजीप्रसाद बराल (जीवन)ले हेपिएका, चेपिएका, विभेदमा परेकाहरुको आवाज बुलन्द गर्ने एकमात्र पार्टी नेकपा माओवादी केन्द्र भएको बताए । तर त्यो कुरा जनतालाई बुझाउन नसक्दा उनीहरुलाई पार्टीमा आकर्षित गर्न नसकिएको उनको भनाई थियो । ‘त्यसैले आजैदेखि यो कुरा बुझाउँदै माओवादीमा गोलबद्ध गर्न पार्टीको तर्फबाट आग्रह गर्दछु’–उनले भने ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय अनुशासन आयोगका सदस्य कोमलनाथ बरालले नेपाली कम्युनिष्ट आन्दोलन र कास्की कम्युनिष्ट आन्दोलनबारे सबिस्तार ब्याख्या गरेका थिए ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति कास्कीका संयोजक केशवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी सचिव जनकराज पराजुलीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।